पूर्वाधार वाच, काठमाडौं ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती–४ काभ्रेपलाञ्चोकको ३२औँ वार्षिक साधारणसभाअन्तर्गत तीनवटा एकाइ सभा सम्पन्न भएका छन् । कार्तिक २१ गते पनौती, पाँचखाल र काठमाडौं एकाइका सभा सदस्यहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएका हुन् ।
संस्थाले सातवटा एकाइमार्फत सञ्चालन गरेको साधारणसभा कार्यक्रमअन्तर्गत यसअघि कार्तिक २० गते बनेपा, भकुण्डे, कुशादेवी र ढुंखर्क एकाइका सभा सम्पन्न गरिसकेको छ ।
पनौती एकाइको सभा संस्थाका अध्यक्ष मुकुन्द शर्माको अध्यक्षतामा, पाँचखाल एकाइको सभा वरिष्ठ उपाध्यक्ष सूर्य मानन्धरको अध्यक्षतामा तथा काठमाडौं एकाइको सभा उपाध्यक्ष भवानी महतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तीन एकाइमा ६६.२४ प्रतिशत सदस्यको सहभागिता
संस्थाका अनुसार पनौती एकाइमा ७६.१० प्रतिशत, पाँचखाल एकाइमा ५९.१० प्रतिशत र काठमाडौं एकाइमा ६८.२९ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो । तीनवटै एकाइमा समग्रमा कुल सदस्यको ६६.२४ प्रतिशत सेयर सदस्य सहभागी भएका थिए ।
सभामा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति तथा सेवा केन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य, विभिन्न प्रतिवेदन प्रस्तुतिसहित संस्थाको वर्तमान अवस्था, उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे छलफल गरिएको थियो ।
कुल बचत ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी
संस्थाले सार्वजनिक गरेको २०८३ असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल बचत ४ अर्ब ५८ करोड ९८ लाख ९३ हजार ८२२ रुपैयाँ ५० पैसा पुगेको छ ।
त्यसैगरी, संस्थाको सेयर पुँजी ४२ करोड ९२ लाख ६९ हजार ६०० रुपैयाँ रहेको छ । जगेडा कोषमा ४८ करोड ६५ लाख ८५ हजार ५५४ रुपैयाँ २९ पैसा र विभिन्न कोषमा २० करोड ६४ लाख १२ हजार ७५ रुपैयाँ ५६ पैसा रहेको विवरणमा उल्लेख छ ।
संस्थाको कुल संस्थागत पुँजी ४८ करोड ६५ लाख ८५ हजार ५५४ रुपैयाँ २९ पैसा रहेको वित्तीय विवरणमा देखाइएको छ ।
कर्जा लगानी ४ अर्ब ८ करोड रुपैयाँ नाघ्यो
संस्थाले सदस्यहरूलाई प्रवाह गरेको कर्जा तथा लगानीमा रहेको ऋण ४ अर्ब ८ करोड ८ लाख ४० हजार ९५५ रुपैयाँ ३ पैसा पुगेको छ ।
त्यस्तै, संस्थाको कुल सम्पत्ति ५ अर्ब ९३ करोड ७ लाख ५२ हजार ७०६ रुपैयाँ ८९ पैसा रहेको छ । वित्तीय विवरणअनुसार संस्थामा कुल ६२ हजार २६७ जना सेयर सदस्य र ५ हजार ३० जना ऋणी सदस्य रहेका छन् ।
संस्थाको कुल तरलता रकम ९० करोड ३२ लाख ७२ हजार २५० रुपैयाँ ६६ पैसा रहेको छ भने तरलता प्रतिशत १९.६८ प्रतिशत कायम रहेको छ । संस्थाले उक्त विवरण असोज मसान्तसम्मको अवस्थालाई आधार मानेर सार्वजनिक गरेको हो ।
रक्तदान र निःशुल्क दन्त परीक्षण कार्यक्रम
साधारणसभालाई सदस्यहरूको आर्थिक तथा सामाजिक हितसँग जोड्दै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेको थियो । पाँचखाल एकाइमा आयोजित रक्तदान कार्यक्रममा १९ जना सदस्यले रक्तदान गरी मानवीय सेवामा योगदान पुर्याएका थिए ।
कार्तिक २० र २१ गते आयोजित रक्तदान कार्यक्रममा कुल ५४ जना रक्तदाताले रक्तदान गरेका थिए । त्यसैगरी, निःशुल्क दन्त शिविरमार्फत ९७ जनाले दन्त परीक्षण सेवा लिएका थिए ।
संस्थाले साधारणसभाका अवसरमा सामाजिक सेवामूलक गतिविधिलाई समेत प्राथमिकता दिँदै सदस्य तथा समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास गरेको जनाएको छ ।
कार्तिक २८ गते निर्णय प्रमाणीकरण सभा हुने
संस्थाले सातवटै एकाइमा सम्पन्न सभाबाट सदस्य संख्याका आधारमा छनोट भएका प्रतिनिधिहरूको उपस्थितिमा आगामी कार्तिक २८ गते निर्णय प्रमाणीकरण सभा आयोजना गर्ने जनाएको छ ।
संस्थाको मुख्य कार्यालय पनौती–४, टौखाल, काभ्रेपलाञ्चोकमा हुने उक्त सभासँगै ३२औँ वार्षिक साधारणसभा औपचारिक रूपमा सम्पन्न हुनेछ ।
सदस्यहरूको सक्रिय सहभागिता, संस्थाप्रतिको अपनत्व र सामाजिक सेवामूलक कार्यक्रमले यस वर्षको साधारणसभा थप प्रभावकारी बनेको संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्