पूर्वाधार वाच, काठमाडौं ।
निशानदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको वसुन्धरास्थित दियालो फुडल्याण्ड एन्ड पार्टी प्यालेसको गण्डकी हलमा आयोजित सभाले संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।
संस्थाका अध्यक्षको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका पदाधिकारी तथा सेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष तथा कोषाध्यक्षले आर्थिक वर्ष २०८२/८३ को आषाढ मसान्तसम्मको संस्थाको आर्थिक अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाको आयव्यय, नगद प्रवाह, वासलातलगायतका वित्तीय विवरण समेटिएका थिए ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । सभाले संस्थाको वित्तीय अवस्था, व्यवस्थापन र आगामी कार्ययोजनाका विषयमा समेत समीक्षा गरेको थियो ।
अध्यक्षमा बुद्धिराज पाण्डे पुनः चयन
संस्थाको १५औँ वार्षिक साधारणसभाबाट बुद्धिराज पाण्डे अध्यक्षमा पुनः कायम भएका छन् । सभाले आगामी चार वर्षको कार्यकालका लागि नयाँ पदाधिकारी तथा सदस्यहरू चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा आनन्द पौडेल, सचिवमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा शिवप्रसाद सिलवाल चयन भएका छन् ।
त्यसैगरी, सञ्चालक समिति सदस्यमा लिना नरहकी, कृष्णबहादुर कुँवर र माधवप्रसाद लम्साल रहेका छन् ।
लेखा सुपरिवेक्षण समितिमा प्रभुदास न्यौपाने, गोमा पाण्डे र मोहनप्रसाद पाण्डे चयन भएका छन् ।
विभिन्न बचत योजनाको ब्याजदर परिमार्जन
सभामा कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाका विभिन्न बचत तथा निक्षेप योजनाको ब्याजदर परिमार्जन गर्ने प्रस्तावमाथि छलफल गरी स्वीकृत गरिएको छ ।
नियमित बचत, साधारण बचत, नारी बचत, दैनिक बचत, बाल बचत, निशानदेवी विशेष बचत तथा ज्येष्ठ नागरिक बचतलगायतका योजनाको ब्याजदर परिमार्जन गर्ने प्रस्ताव सभाबाट अनुमोदन भएको जनाइएको छ ।
सभाले संस्थाको विगतको प्रगति समीक्षा गर्नुका साथै आगामी दिनमा सञ्चालन गरिने नीति तथा कार्यक्रम र संस्थागत विकासका योजनाबारे समेत छलफल गरेको थियो ।
सदस्यको आर्थिक तथा सामाजिक उन्नतिमा जोड
काठमाडौं महानगरपालिका–२६, भगवानबहाल, ठमेलमा केन्द्रीय कार्यालय रहेको निशानदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतिलाई प्राथमिकतामा राख्दै वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
वित्तीय क्षेत्रका अनुभवी व्यक्तिहरू, चार्टर्ड एकाउन्टेन्ट, पर्यटन व्यवसायी, समाजसेवी तथा विभिन्न उद्यमीहरूको सहभागितामा स्थापना भएको संस्थाले प्रचलित कानुन, सहकारीको विधान तथा नियमअनुसार आफ्ना गतिविधि सञ्चालन गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
१५औँ वार्षिक साधारणसभाले आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै संस्थाको वित्तीय पारदर्शिता, संस्थागत सुशासन र सदस्यकेन्द्रित सेवाप्रवाहलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्