पूर्वाधार वाच, काठमाडौं ।
सदस्य सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सित्तल प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटसहित विभिन्न महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ ।
‘सदस्य सेवाको बचतको बहार, सुनौलो भविष्यको सुन्दर उपहार’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको संस्थाले सदस्य विस्तार, प्रविधिमैत्री सेवा, स्वास्थ्य सुरक्षा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्दै आएको छ ।
१५ वर्ष अघि डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई सञ्चालनमा आएको संस्थाको प्रधान कार्यालय कोटेश्वरमा रहेको छ । संस्थाले काठमाडौंको कुलेश्वर र इन्द्रचोक (न्युरोड) बाट समेत सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।
सदस्य संख्या ३ हजार ३६१ पुग्यो
संस्थाको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा १ हजार २५५ जना नयाँ सदस्य थपिएका छन् । यससँगै संस्थाको कुल सदस्य संख्या ३ हजार ३६१ पुगेको छ । कुल सदस्यमध्ये १ हजार ५९० जना महिला र १ हजार ७७१ जना पुरुष रहेका छन् ।
सदस्य संख्या विस्तारसँगै संस्थाले सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने प्रयासलाई पनि प्राथमिकता दिएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको मोबाइल बैंकिङ एपमा ७ हजार ९५ जना प्रयोगकर्ता पुगेका छन् भने फोनपे क्यूआर सेवामा ४ हजार ८९३ जना प्रयोगकर्ता आबद्ध भएका छन् ।
स्वास्थ्य सुरक्षामा साढे आठ लाख रुपैयाँभन्दा बढी भुक्तानी
संस्थाले सदस्यको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकता दिँदै सञ्चालन गरेको ‘सदस्य सेवा जीवन सुरक्षा बचत योजना’मा ८८५ जना सदस्य आबद्ध भएका छन् । उक्त योजनाअन्तर्गत सदस्यहरूको स्वास्थ्य बीमाबापत ८ लाख ८३ हजार ९५५ रुपैयाँ भुक्तानी गरिएको संस्थाले जनाएको छ ।
त्यसैगरी, संस्थाको नगद तथा वित्तीय कारोबारको सुरक्षालाई ध्यानमा राख्दै भल्ट, काउन्टर र कर्जाको समेत बीमा गरिएको छ । यस्ता व्यवस्थाले संस्थाको वित्तीय सुरक्षा र सदस्यको हित संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन
संस्थाले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक गतिविधि सञ्चालन गरेको छ । संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै गुह्येश्वरीस्थित प्रवणानन्द आश्रममा भोजन सेवा र टेकुस्थित जनउद्धार सेवा समितिमा आश्रित व्यक्तिहरूलाई खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ ।
सहकारीले सदस्यको आर्थिक हितसँगै सामाजिक क्षेत्रमा पनि योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
वार्षिक प्रतिवेदन र बजेट पारित
काठमाडौंको बानेश्वरस्थित थापागाउँ ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले अध्यक्ष सित्तल प्रसाद शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति र कार्यक्रम पारित गरेको छ ।
सभाले कोषाध्यक्षको आर्थिक प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको प्रस्तावित बजेटसमेत पारित गरेको छ । यसैगरी, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र वार्षिक लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ ।
सभाले सदस्यहरूलाई सेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने निर्णय गरिएको छ ।
विनियम संशोधन र ऋणसम्बन्धी अधिकार सञ्चालक समितिलाई
संस्थाको संस्थागत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले साधारणसभाले विनियम संशोधन तथा आन्तरिक कार्यविधि पारित गर्ने प्रस्तावलाई पनि स्वीकृति दिएको छ ।
त्यसैगरी, थोक तथा बाह्य ऋण माग गर्नेसम्बन्धी अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित भएको छ ।
सदस्य विस्तार, डिजिटल सेवाको प्रयोग, स्वास्थ्य सुरक्षा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा भएका गतिविधिले संस्थाको सेवा विस्तारमा सहयोग पुगेको देखिन्छ । आगामी दिनमा प्रविधिमैत्री कारोबारलाई थप प्रभावकारी बनाउँदै पारदर्शी व्यवस्थापन र सदस्यमैत्री सेवामार्फत संस्थाको दिगो विकासलाई निरन्तरता दिने प्रतिबद्धता सभाले व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्