क्यानबेरा । अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ ।
नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुरक्षामा आवश्यक कदम नचालेका कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ । जरिवानाको अधिकतम सीमा १० करोड ९० लाख अस्ट्रेलियन डलर वा विश्वव्यापी आम्दानीको पाँच प्रतिशत, जुन बढी हुन्छ, त्यही हुनेछ ।
नयाँ व्यवस्थाले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालसँगै अनलाइन खेल, मोबाइल एप तथा कृत्रिम बौद्धिकता ९एआई०मा आधारित संवाद सेवाहरूलाई समेत समेट्नेछ ।
विशेषगरी बालबालिका तथा किशोरकिशोरीलाई हानिकारक सामग्रीबाट जोगाउने, अनलाइन दुव्र्यवहार नियन्त्रण गर्ने र प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने डिजिटल सुविधाहरूको जोखिम कम गर्ने कानुनको मुख्य उद्देश्य रहेको सरकारले जनाएको छ ।
नयाँ कानुनको अर्को महत्त्वपूर्ण पक्ष १६ वर्ष वा सोभन्दा माथिका अस्ट्रेलियाली प्रयोगकर्ताले सामाजिक सञ्जालमा आफूले हेर्ने सामग्री नियन्त्रण गर्न पाउने व्यवस्था हो । उनीहरूले चाहेको अवस्थामा एल्गोरिदममा आधारित व्यक्तिगत सिफारिस बन्द गरी आफूले पछ्याएका व्यक्ति तथा संस्थाका सामग्री मात्र हेर्न सक्नेछन् ।
यसले सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको रुचि, गतिविधि र व्यवहारका आधारमा निरन्तर सामग्री सिफारिस गर्ने प्रणालीमाथि प्रयोगकर्तालाई थप नियन्त्रण दिनेछ ।
त्यसैगरी, अनलाइन सेवाबाट हानि व्यहोरेका व्यक्तिलाई सम्बन्धित प्रविधि कम्पनीविरुद्ध अस्ट्रेलियाली अदालतमा कानुनी कारबाही अघि बढाउन सक्ने अधिकारसमेत नयाँ कानुनले दिएको छ । नियामक निकायले वास्तविक तस्बिर प्रयोग गरी नक्कली अश्लील तस्बिर बनाउने एप तथा वेबसाइटमाथि कारबाही गर्न सक्ने अधिकार पनि पाउनेछ ।
सञ्चारमन्त्री अनिका वेल्सले नयाँ कानुनले प्रविधि कम्पनीहरूलाई आफ्ना सेवाबाट उत्पन्न हुन सक्ने जोखिमको जिम्मेवारी लिन बाध्य बनाउने बताएकी छन् । उनका अनुसार अनलाइन सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी अब प्रयोगकर्ता र अभिभावकमा मात्र सीमित नरही सेवा उपलब्ध गराउने कम्पनीहरूमा पनि रहनेछ ।
सरकार र ग्रिन्स पार्टीबीच भएको सहमतिपछि संसद्बाट पारित भएको यो विधेयकको विपक्षी लिबरल पार्टी तथा केही प्रविधि उद्योगका प्रतिनिधिहरूले भने आलोचना गरेका छन् । उनीहरूले हानिकारक सामग्रीको परिभाषा स्पष्ट नहुँदा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्न सक्ने र कम्पनीहरूले जरिवानाबाट बच्न कानुनी रूपमा वैध सामग्रीसमेत हटाउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
कानुन कार्यान्वयनका लागि प्रविधि कम्पनीहरूलाई १२ महिनाको तयारी अवधि दिइएको छ । त्यसपछि नयाँ व्यवस्था पूर्ण रूपमा लागू हुनेछ ।
यसअघि सन् २०२५ मा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन ल्याएको अस्ट्रेलियाले पछिल्लो व्यवस्थामार्फत विश्वका ठूला प्रविधि कम्पनीमाथि नियमन थप कडा बनाएको छ ।
नयाँ कानुनलाई अस्ट्रेलियाको डिजिटल सुरक्षा नीतिमा महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । यसले प्रविधि कम्पनीहरूको व्यावसायिक जिम्मेवारी, प्रयोगकर्ताको गोपनीयता, बाल सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताबीचको सन्तुलनबारे नयाँ बहससमेत सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्