images
images
images

नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटको ‘मापदण्ड हेरफेर’ गर्ने सरकारको निर्णय विवादमा

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि सरकारले छनोटको मापदण्ड हेरफेर गर्ने निर्णय विवादित बनेको छ ।

आफू अनुकूलका उम्मेदवारलाई सहज हुने गरी सरकारले मापदण्ड हेरफेर गरेको हो । सरकारले जेठ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् एनटीसीको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो ।

सरकारले नयाँ मापदण्ड जारी गरी उमेरको हदम्याद र योग्यतामा थपघट गरेको हो । दरखास्त दिन ५८ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । यसअघि उमेरको हद ५६ वर्ष थियो ।

व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने प्रावधान पनि हटाइएको छ । सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ विधा राखिए पनि इलेक्ट्रिकल भने मापदण्डमा राखिएको छैन ।

टेलिकममा इलेक्ट्रिकल इन्जिनियरहरु कार्यरत छन् । टेलिकम नेतृत्वका लागि आफू निकटका मानिसलाई लक्षित गरी मापदण्ड संशोधन गरेको आरोप हरेक पटक सरकारमाथि लाग्ने गरेको छ । स्रोतका अनुसार नेपाल टेलिकममा कार्यरत १० औँ तहका सञ्चार तथा सूचना प्रविधि मन्त्री निकट उम्मेदवार विमल आचार्यका लागि मापदण्डमा उमेरको प्रावधानलाई खुकुलो बनाइएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा आफ्ना सल्लाहकार भूपेन्द्र भण्डारीलाई नियुक्त गरेकी थिइन् । भण्डारी एनसेलको कर्मचारी भइसकेका छन् ।

खुला प्रतिस्पर्धाको नाटक गरेर आफ्नै नजिकलाई नियुक्त गर्ने प्रवृत्ति यसपटक पनि दोहोरिने सम्भावना रहेको सञ्चार मन्त्रालय स्रोतको भनाइ छ । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्तिको मापदण्ड परिवर्तनबारे भइरहेको टिका–टिप्पणीबारे प्रतिक्रिया दिन मानेनन् ।

सरकारले सार्वजनिक संस्थानहरुमा सत्तारुढ दल निकट व्यक्तिलाई नियुक्त गर्दा योग्य उम्मेदवारहरू किनारा लाग्ने गरेका छन् ।

टेलिकममा हरेक पटक सत्तारुढ दलकै आशीर्वादमा प्रबन्ध निर्देशक नियुक्त हुने गरेको छ । गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पक्राउ परेपछि गत माघदेखि नै टेलिकम निमित्तको भरमा सञ्चालन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्