images
images
images

चन्द्रबाबु नायडुका ‘विश्वासपात्र’ राममोहन जाे ३६ वर्षकै उमेरमा बने भारतकाे केन्दीय मन्त्री

images

पूर्वाधार वाच, काठमाडौं । 

३६ वर्षीय युवा नेता राममोहन नायडु भारतको नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् । चन्द्रमोहन नायडु नेतृत्वको तेलुगु देशम पार्टी टीडीपीबाट उनी मन्त्रीका लागि सिफारिस भएका हुन् ।

टीडीपी अध्यक्ष चन्द्रमोहन नायडुका विश्वास पात्रका रूपमा परिचित राममोहन मोदी क्याबिनेटकै सबैभन्दा कान्छाे मन्त्री हुन् । उनले आन्ध्र प्रदेशस्थित श्रीकाकुलम निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक लोकसभा निर्वाचित जितेका हुन् ।

राममोहन सन् २०१२ मा राजनीतिमा प्रवेश गरेका हुन् । उनले चन्द्रबाबु नायडुको पार्टी टीडीपीमा राष्ट्रिय महासचिव पदमा रहेर समेच काम गरिसकेका छन् ।

अमेरिकाबाट इन्जिनियरिङ अध्ययन गरेका रामबाबु एमबीए डिग्रीधारी नेता हुन् । उनले २६ वर्षको उमेरमै श्रीकाकुलमबाट पहिलो पटक निर्वाचन लडेकोमा जित हासिल गरेका थिए ।

नायडुले यसअघि कृषि, पशुपालन खाद्यसम्बन्धी समितिहरूमा समेत सक्रिय सदस्यका रूपमा काम गरेका छन् ।  उनले सांसदको नियमित जिम्मेवारीसँगै रेल्वे, गृह मामिला  समिति, पर्यटन तथा  संस्कृति मन्त्रालयको परामर्शदाता समिति,  पिछडा वर्ग कल्याण समिति र राज्य भाषा विभागको सदस्यका रूपमा समेत काम गरेका छन् ।

नायडुलाई सन् २०२० मा सांसद्का रूपमा असाधारण प्रदर्शन गरेको भन्दै संसद् रत्न अवार्डबाट समेत सम्मान गरिएको थियो । राममोहनले आफ्नी पत्नी गर्भवती रहेको अवस्थामा सन् २०२१ को बजेट सत्र चलिरहँदा पितृत्व बिदा (paternity leave) समेत लिएर चर्चामा आएका थिए ।

उनले सो बिदा लिएपछि लैङ्गिक अधिकार र शिक्षाका विषयमा भारतमा निक्कै महत्त्वपूर्ण बहस समेत छेडिएको थियो । उनी महिनावारी स्वास्थ्य एवं यौन शिक्षाका सवालमा वकालत गर्ने सांसदहरूमध्ये गनिन्छन् ।

महिलाहरू महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याडमा लगाइने सरकारी जीएसटी हटाउन समेत सांसद्का रूपमा उनले सक्रिय अभियान चलाएका थिए ।

उनी पूर्व संघीय मन्त्री एवं टीडीपी वरिष्ठ नेता यर्रान नायडुका छोरा हुन् । उनका पिता यर्रान समेत भारतकै पहिलो कम उमेरकाे मन्त्री बनेका थिए ।

 उनका पिता यर्रान भने ३९ वर्षको उमेरमा संघीय मन्त्री बनेका थिए । सन् १९९६ ताका मन्त्री नियुक्त भएका यर्रानले प्रधानमन्त्री देवेगौडा र आई. के गुजरालको क्याबिनेटमा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सन् २०१२ मा सडक दुर्घटनामा परी उनको निधन भएको थियो ।

भर्खरै नरेन्द्र मोदी नेतृत्वको क्याबिनेटमा नागरिक उड्डयन (सिभिल एभिएसन)जस्तो महत्त्वपूर्ण मन्त्रालय पाएपछि थप चर्चामा आएका नायडुको राजनीतिक भविष्य समेत उज्वल देखिन्छ ।

सन् २०२४ को लोक सभा निर्वाचनपछि भारतीय राजनीतिको किङ मेकर मानिएका चन्द्रबाबु नायडुको दरिलो साथ पाएका राममोहन अब राष्ट्रिय राजनीतिमा समेत चर्चामा रहने देखिन्छ ।

यस्तै, मोदीको तेस्रो कार्यकालको क्याबिनेटमा दोस्रो कार्यकालकै अधिकांश मन्त्री दोहोरिएका छन् । रक्षा मन्त्रीमा राजनाथ सिंह, गृहमन्त्री अमित शाह, वित्त मन्त्री निर्मला सितारमण, विदेश मन्त्री एस. जयशंकर लगायतले पुनः निरन्तरता पाएका छन् ।

अघिल्ला दुई निर्वाचनमा एकल बहुमतका साथ सरकार बनाएका मोदी यसपटक गठबन्धन दलहरू बिना सरकार बनाउन नसक्ने अवस्थामा थिए ।

बिहारका मुख्यमन्त्री नितिश कुमार र टिडीपी सुप्रिमो चन्द्रबाबु नायडु दाहिने भएसम्म मोदी सरकार ठिकठाक चले पनि उनीहरूले साथ छाडेका दिन नरेन्द्र मोदीले सत्ता गुमाउने सम्भावना पनि उत्तिकै देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्