images
images
images

रुसी भू–भागमा युक्रेनी आक्रमण तीव्र, कुर्स्क क्षेत्रको तेस्रो पुल ध्वस्त

images

पूर्वाधार वाच, मस्को ।

पछिल्लो समय युक्रेनी फौज अप्रत्यासित रूपमा रुसी क्षेत्रमा अघि बढिरहेको छ । दुई देशका फौजबीच कुर्स्क क्षेत्रमा भीषण लडाइँ जारी छ । त्यसक्रममा युक्रेनी फौजले रणनीतिक महत्वको तेस्रो रुसी पुल ध्वस्त पारिदिएको छ । कुर्स्क क्षेत्रको कर्याज्ह गाउँमा सेम नदीमाथि बनाइएको पुल सोमबार ध्वस्त भएको द गार्जियनले जनाएको छ ।

त्यसअघि युक्रेनले सेम नदीमाथिका दुईवटा पुल ध्वस्त पारिदिएको थियो । ती पुल रुसी फौजले सरसामान आपूर्ति गर्न प्रयोग गर्दै आएको थियो । यसअघि सैन्य विश्लेषकहरूले त्यस क्षेत्रका तीनवटा पुलमार्फत रुसले आफ्नो फौजलाई सामान आपूर्ति गरिरहेको पहिचान गरेका थिए ।

दुई सातायता युक्रेनले रुसी भू–भागमाथिको आक्रमण तीव्र पारेको हो । २०२२ फेब्रुअरी २४ मा रुसले आक्रमण सुरू गरेयता युक्रेनले अगस्ट ६ मा पहिलोपटक रुसी भूभागमाथि सर्वाधिक ठूलो आक्रमण गरेको हो । त्यसयता जारी आक्रमण दोस्रो विश्वयुद्धपछिकै ठूलो भएको बताइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार अगस्ट ६ यताका आक्रमणमा युक्रेनले ११ सय ५० वर्गकिमि क्षेत्रफलमा फैलिएका ८० गाउँ नियन्त्रणमा लिइसकेको छ । त्यसका साथै, आइतबार दोनेत्स्क क्षेत्रमा पनि लडाइँ चलिरहेको बीबीसीले जनाएको छ । उनका अनुसार पोक्रोभ्स्क नजिकैको दोनेत्स्क क्षेत्रमा युक्रेन र रुसी सेनाबीच भीषण लडाइँ जारी छ । कुर्स्क क्षेत्रमा युक्रेनी फौजले ध्वस्त पारेको सेम नदीमाथिको पुल । तस्बिर स् एपी

आफ्नो देशको फौज रुसी भूमिमा अघि बढेसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलेले ‘युक्रेनले आफ्नो उद्देश्य पूरा गरिरहेको’ प्रतिक्रिया दिएका छन् । ‘हामी उद्देश्यअनुसार नै अघि बढिरहेका छौं । हामीले कुर्स्क क्षेत्रमा नयाँ नतिजाहरू प्राप्त गरेका छौं,’ उनले भनेका छन् ।

त्यसअघि जेलेन्स्कीले रुसी हमलालाई रोक्न ‘मध्यवर्ती क्षेत्र’ स्थापना गर्ने उद्देश्यले कुर्स्क क्षेत्रमाथि युक्रेनले सैन्य आक्रमण गरेको बताएका थिए । युक्रेनी सेना रुसी भू–भागमा प्रवेश गरेको दुई साता भइसकेको छ । उनीहरू रुसी क्षेत्रमै बस्ने योजनामा रहेको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । शनिबार जेलेन्स्कीले युक्रेनी सेनाले कुर्स्कमा नियन्त्रण कायम गरिसकेको र उनीहरू थप रुसी भूमिमा नियन्त्रण कायम गरिरहेको दाबी गरेका थिए ।

‘कुर्स्कमा हाम्रो कारबाहीबाट रुसी सेना र रुसी राज्य, रक्षा संयन्त्र र अर्थतन्त्रमा क्षति पुगिरहेको छ,’ उनले भनेका थिए, ‘त्यो युक्रेनका लागि प्रतिरक्षा मात्रै होइन, यथासम्भव युद्ध गर्न सक्ने रुसको सामर्थ्य नष्ट गर्नु पनि हो ।’ जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोलियाकले युक्रेनको रुसी भूमि कब्जा गर्ने इच्छा नरहेको जनाउँदै रुसलाई वार्ताका लागि मनाउन चाहेको बताएका छन् ।

तर रुसले भने पछिल्ला युक्रेनी आक्रमण निकै उत्तेजक भन्दै त्यसको उपयुक्त जवाफ दिने बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोभले ‘कुर्स्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणका कारण रुस कुनै पनि वार्तामा बस्न तयार नहुने’ बताएका छन् ।

बढ्दो तनावबीच चिनियाँ प्रधानमन्त्री ली चियाङले यसै साता रुस र बेलारुसको भ्रमण गर्ने चीनको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अगस्ट २० देखि २३ सम्म हुने भ्रमणका क्रममा प्रधानमन्त्री लीले रुस र बेलारुसका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूसँग भेटवार्ता गर्नेछन् ।

रुस चीनको प्रमुख आर्थिक साझेदार भए पनि लीको बेलारुस भ्रमणलाई भने निकै चासोका साथ हेरिएको छ । पछिल्लो समय बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले चीनसँगको सम्बन्ध सुधार गर्नुपर्ने बताउँदै आएका छन् । लुकासेन्कोले गत डिसेम्बरमा ‘चीन बेलारुसको भरपर्दो साझेदार हुने’ बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्