images
images
images

ऊर्जामन्त्रीले कुलमानलाई स्पष्टीकरण साेधेका १५ बुँदामा के छ ?

images

पूर्वाधार वाच, काठमाडौं । 

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । १५ दिनको म्याद दिएर स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै मन्त्री खड्काले गत मंगलबार कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोधेका थिए ।

कुलमानलाई उनको कामको मूल्यांकन, काल्पनिक नाफा देखाएको, गुणस्तरीय बिजुली नदिएको, ट्रान्सफरमर तथा बिजुलीका तारलगायतका खरिद टेन्डरलाई समेत उल्लेख गरेर स्पष्टीकरण सोधिएको छ । मन्त्री खड्काे प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रूपमा गत ५ वर्षदेखि को को कार्यरत थिए, उनीहरूको पद र योग्यता खुलेको विवरण खुलाएर पठाउन समेत निर्देशन दिएका छन् ।

प्राधिकरणले आफैंले विभिन्न स्थानहरूमा सिमेन्टेड पोल प्लान्टहरू स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरूबाट खरिद भएमा विभिन्न पोलहरूको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरूको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण माग गरिएकाे छ ।

यस्तै हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धित ६० मेगावाटको खिम्ती– १ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण/प्रतिवेदनहरु समेत मागेका छन् ।

मन्त्री खड्काले कुलमानले कार्यकालभर गरेका हरेक निर्णयका फाइल र विवरण माग्नुले सरकार उनलाई हटाउने अन्तिम तयारीमा रहेको बुझ्न खासै गाह्रो छैन । किनकी मन्त्री खड्काले १५ दिने अल्टिमेटमसहितको स्पष्टीकरण सोध्नुअघि स्पष्टीकरणका बुँदा तयारीमै गम्भीर तयारी गरेको बुझिन्छ ।

मन्त्री खड्काले महालेखाको प्रतिवेदनदेखि प्राधिकरणका कर्मचारीहरुको आन्तरिक असन्तुष्टिलाई समेत सुनेर प्रत्येक बुँदामा कुलमानलाई १५ दिनमा फाइल खोज्नै नसक्ने गरी म्याद समेत थमाइदिएका छन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधै टकराबमा उत्रिएका घिसिङलाई हटाउने उद्देश्यले यो स्पष्टीकरण सोधिएको बुझिएको छ । बक्यौता नतिरेका उद्योगको लाइन काटेपछि प्रधानमन्त्रीले लाइन खोल्न दिएको दिएको निर्देशन कुलमानले नमानेपछि विवाद बढेको थियो ।

कुलमानलाई माओवादी केन्द्रको समर्थन रहेको छ र माओवादी केन्द्रले नै आफ्नो सरकार भएको समयमा उनलाई नियुक्ति गरेको थियो ।

मन्त्री खड्काले स्पष्टीकरणको लागि सोधेको १५ बुँदा यस्ता छन् ।

१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली (संशोधन सहित) एवं आर्थिक प्रशासन विनियमावली (संशोधन समेत)र त्यससँग सम्बन्धित विगत चार वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णय ।

२. नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले विगत चार वर्ष अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ।

३. नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुकका व्यावसायिक संस्थासँग गरेको विभिन्न मितिका सम्झौता एवं समझदारी पत्रहरूको विवरण ।

४. नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीमा रहेको प्राधिकरणको सेयर संरचना एवं ती कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै, ती कम्पनीमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरूका विवरण ।

५. नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूको विगत चार वर्षको वित्तीय विवरण ।

६. नेपाल विद्युत् प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट ‘पावर इभ्याकुएसन’ पूर्णरूपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूका विवरण

७. हिमाल पावर लिमिटेडद्वारा प्रवद्र्धित ६० मेगावाटको खिम्ती–१ जलविद्युत् आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत् प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण/प्रतिवेदनहरू ।

८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरूको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।

९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमण सम्बन्धी विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवं ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।

१०. डेडिकेटेड फिडर-ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेस भएका विभिन्न प्रतिवेदन एवं उक्त महसुल सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू ।

११. नेपाल विद्युत् प्राधिकरणले विभिन्न बोलपत्र मार्फत खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफर्मरको अद्यावधिक विवरण (खरिदका लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नम्बर, खरिद मूल्य एवं हालको अवस्था सहित) ।

१२. हाल बोलपत्र आह्वानका लागि तयारी भइरहेको स्मार्ट मिटर लगायत वस्तु /सामग्रीको विवरण एवं प्रतिस्थापन कार्ययोजना ‘परिमाण एवं अनुमानित लागत रकम सहित’ ।

१३. नेपाल विद्युत् प्राधिकरण आफैंले विभिन्न स्थानमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलका लागत मूल्य, बोलपत्रबाट खरिद भए विभिन्न पोलको खरिद मूल्य एवं त्यस सम्बन्धी परिमाणको गत चार आर्थिक वर्षको अद्यावधिक विवरण ।

१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फछ्र्योट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।

१५. नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखका रूपमा गत पाँच वर्षदेखि को–को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्