images
images
images
images

पिपुल्स इनर्जीको दसौँ साधारणसभा सम्पन्न, खिम्ती–२ आयोजना परीक्षणको चरणमा

images

पूर्वाधार वाच, काठमाडौं ।

पिपुल्स इनर्जी लिमिटेडको दसौँ वार्षिक साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक तथा संस्थागत प्रतिवेदन पारित गर्नुका साथै ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना र कम्पनीको भावी व्यावसायिक योजनासँग सम्बन्धित विभिन्न प्रस्तावहरू अनुमोदन गरेको छ ।

images

सभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीको व्यवसाय सञ्चालन, लगानी, ऋण तथा कर्पोरेट ग्यारेन्टीसम्बन्धी विषयमा सञ्चालक समितिबाट भएका निर्णय र कार्यहरूलाई सभाले अनुमोदन गरेको छ ।

सर्वसाधारणका लागि २० प्रतिशतसम्म आईपीओ जारी गर्ने प्रस्ताव पारित

सभाले कम्पनीको शेयर पुँजी वृद्धि गर्ने तथा जारी पुँजीको २० प्रतिशतसम्म शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सर्वसाधारणमा जारी गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै कम्पनीले सर्वसाधारणलाई शेयरधनीका रूपमा सहभागी गराउने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

विशेष प्रस्तावअन्तर्गत विद्यमान शेयरधनीलाई प्राथमिकता दिई शेयर जारी गर्ने तथा बिक्री हुन बाँकी शेयरको व्यवस्थापन र बाँडफाँट गर्ने प्रस्ताव पनि पारित भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सोसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत सभाले गरेको छ ।

४८.८ मेगावाटको खिम्ती–२ आयोजना वाटर फिलिङ तथा परीक्षणमा

पिपुल्स इनर्जीले दोलखा र रामेछाप जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको उत्पादन केन्द्र दोलखाको गोकुलगंगा गाउँपालिका तथा रामेछापको जिरी र तामाकोशी गाउँपालिकाको क्षेत्रमा अवस्थित छ ।

कम्पनीको स्थापना २०७३ साल असार २१ गते भएको हो । यसको रजिस्टर्ड कार्यालय काठमाडौंको नयाँ बानेश्वरस्थित श्रीकृष्ण सदनमा रहेको छ । सुरुमा पिपल्स हाइड्रो सहकारी संस्थामार्फत विकास प्रक्रिया अघि बढाइएको उक्त आयोजनाको अनुमतिपत्रसहित संस्थाको नाममा रहेका सम्पत्ति, लगानी, खर्च तथा दायित्व कम्पनीको नाममा हस्तान्तरण गरी आयोजना निर्माणलाई निरन्तरता दिइएको हो ।

आयोजनासम्बन्धी विद्युत् खरिद बिक्री सम्झौता (पीपीए), उत्पादन अनुमतिपत्र, वातावरणीय तथा भौगर्भिक अध्ययन, सम्भाव्यता अध्ययन, आधारभूत डिजाइन र भौतिक हाइड्रोलिक मोडलिङलगायतका प्राविधिक तथा प्रशासनिक काम सम्पन्न भइसकेका छन् ।

त्यस्तै, स्थानीय निकायसँग आवश्यक समन्वय, आयोजनाका संरचना निर्माणका लागि जग्गा खरिद, पहुँचमार्ग निर्माण र खिम्ती खोलामाथि तीनवटा पुल निर्माणको काम पनि पूरा भएको कम्पनीले जनाएको छ । आयोजनाका लागि आवश्यक निर्माण विद्युत्, साइट क्याम्प, सिभिल संरचना, इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल उपकरण जडान र प्रसारण लाइन निर्माणसम्बन्धी कामसमेत सम्पन्न भएको विवरणमा उल्लेख छ ।

कम्पनीका अनुसार आयोजना हाल वाटर फिलिङ तथा टेस्टिङको चरणमा रहेको छ । यससँगै आयोजना विद्युत् उत्पादनपूर्वको परीक्षण प्रक्रियामा पुगेको छ ।

कम्पनीको पुँजी संरचना

कम्पनीले उपलब्ध गराएको विवरणअनुसार पिपुल्स इनर्जीको अधिकृत पुँजी १ अर्ब १० करोड रुपैयाँ, जारी शेयर पुँजी ३ अर्ब ३० करोड रुपैयाँ र चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

दसौँ वार्षिक साधारणसभाबाट आईपीओ निष्काशन, पुँजी वृद्धि तथा संस्थागत संरचनासम्बन्धी प्रस्ताव पारित भएसँगै कम्पनीले आगामी व्यावसायिक योजना अघि बढाउने निर्णय गरेको छ । खिम्ती–२ आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा थप ऊर्जा उपलब्ध हुनुका साथै स्थानीय रोजगारी, पूर्वाधार विकास र आर्थिक गतिविधिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्