पूर्वाधार वाच, काठमाडौं ।
सगरमाथा संवादको लागि भारतले नेपाललाई १५ वटा विद्युतीय गाडी सहयोग उपलब्ध गराएको छ । नेपालले आगामी जेठ २ गतेदेखि गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमका लागि भारत सरकारले उक्त गाडी सहयोग स्वरूप प्रदान गरेको हो ।
नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमार्फत हस्तान्तरण गरिएको हो।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती गाडीहरू परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई हस्तान्तरण गरे ।
समारोहमा मन्त्री डा. राणाले भारत सरकारलाई सहयोगका लागि धन्यवाद दिँदै भनिन्, ‘जलवायु परिवर्तन नेपालको मात्र नभई सम्पूर्ण क्षेत्रको साझा चुनौती हो । यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास अपरिहार्य छ ।’
उनले सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तनसम्बन्धी क्षेत्रीय समस्याको उजागर गर्नुका साथै त्यसको समाधानका उपाय खोज्न सामूहिक प्रयासको मोडल तय गर्ने बताइन् ।
मन्त्री राणाका अनुसार, मे १६ देखि १८ सम्म चल्ने सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ र नेपाल सरकार विदेशी अतिथिहरूको स्वागतका लागि तयार छ ।
सगरमाथा संवाद जलवायु परिवर्तनको असर, अनुकूलन र समाधानका विषयमा क्षेत्रीय तथा विश्वव्यापी छलफलको मञ्चको रूपमा परिचालित हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्