पूर्वाधार वाच, काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । यसका लागि नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिएको उनको भनाइ छ । यस्तै सवारी साधनहरूलाई भार वहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइका साथ लागु गरिने पनि उनले बताएका छन्।
नेपाली सडक तथा संरचनाहरूको दिगो उपयोगका लागि भार वहन क्षमता कडाइका साथ लागु गर्न आवश्यक रहेको रहेको उनको भनाई छ । अधिक भारका मालवाहक सवारी साधनहरूका कारण नेपालका पुल तथा सडकहरूमा ठुलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सीमा क्षेत्र देखिनै यसको नियन्त्रण गरिने बताए ।

चन्द्रागिरि नगरपालिका ७ मा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन समारोहमा उनले नेपालका सडक, पुल लगायतका संरचनाहरूको संरक्षण सबैको दायित्व रहेको पनि उल्लेख गरे ।
‘हाम्रो भुबनोट तथा सडकको अवस्था अनुसार पुलहरूको निर्माण गरिएको हुन्छ’ मन्त्री दाहालले भने, ‘निश्चित भार क्षमताका ती संरचनामा जथाभाबी अधिक भारका सवारी साधन त चलाउनु भएन नि, हाम्रा संरचनाको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो ।’
उनले यातायात क्षेत्र सँग सम्बन्धित विभिन्न कानुनहरू संशोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरी रहेको उल्लेख गरे। कार्यक्रममा व्यावसायिहरुले राखेका माग सम्बोधनमा मन्त्रालय सकारात्मक रहेको मन्त्री दाहालले बताए ।

‘विकासलाई उत्पादनसँग जोडौं’
नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केही भएन र हुँदैन भन्नेहरूको भ्रमलाई एसियन मापदण्डमा विस्तार भई रहेको पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा मध्य पहाडी राजमार्गले चिरि रहेको समेत बताए ।
यस्तै उत्तर दक्षिण करिडोरका रुपमा निर्माण भई रहेका राजमार्गहरूले नेपाललाई चीन र भारतसँगको पहुँचलाई पनि बलियो बनाई रहेको मन्त्री दाहालको भनाई छ । यस्तै हुम्लामा समेत पुल बनेसँगै नेपालका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै उनले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको उल्लेख गरे ।
‘हामीले सडक तथा पुलहरू त बनायौं तर यो नै अन्तिम विकास होइन, यी संरचनाहरूको माध्यमबाट उत्पादन वृद्धि गर्न जरुरी छ’ मन्त्री दाहालले भने, ‘अब शहर र गाउँको दुरी टाढा रहेन, गाउँमा पनि उद्यमशीलताको विकास गर्न सहज भएको छ । त्यहाँ उत्पादित तथा प्रशोधित कृषि उपज लगायतका उत्पादनहरूलाई बजार सम्म ल्याएर उत्पादन वृद्धि तर्फ पनि हामीले ध्यान दिने बेला आएको छ ।’
यातायात क्षेत्रलाई सुरक्षित बनाउने तर्फ समेत ध्यान दिइएको मन्त्री दाहालको भनाइ थियो । समितिको सो भवन १ करोड ११ लाख रुपैयाँको लागतमा निर्माण भएको अध्यक्ष कृष्णप्रसाद पन्तले जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, यातायात व्यावसायी महासंघका अध्यक्ष विजय स्वाँर, यातायात व्यावसायीहरु, मजदुर नेता लगायतले बोलेका थिए । कार्यक्रममा भवन निर्माणमा योगदान गर्नेहरूलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्