images
images
images

जिओमाण्डु २०२७ को औपचारिक घोषणा, ‘पूर्वाधार विकासका लागि पर्वतीय भूप्रविधि’माथि केन्द्रीत हुने

images

पूर्वाधार वाच, काठमाडौं ।

भूप्रविधि समाज नेपालले आगामी सन् २०२७ (मार्च १७–१९)मा नेपालमा हुने जिओमाण्डु २०२७ को औपचारिक घोषणा गरेको छ । शुक्रबार ललिपुरको पुल्चोकस्थित स्क्वायर होटलमा एक कार्यक्रमबीच समाजले उक्त अन्तराष्ट्रिय सम्मेलनको औपचारिक जानकारी दिएको हो ।

नेपालमा प्रत्येक वर्ष पहिरो, डेब्रिस फ्लो, भूकम्प, कटान तथा नदी तटबन्ध क्षतिको उच्च जोखिम रहेको उल्लेख गर्दै वैज्ञानिक अनुसन्धान, पूर्वाधार डिजाइन र जलवायु–सूचित योजना अपरिहार्य भएको भूप्रविधि समाज नेपालका अध्यक्ष सह प्राध्यापक डा. इ. इन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नेपाललाई विश्वका जटिल पहाडी भू–भागहरूको ‘जीउँदो प्रयोगशाला’का रूपमा पहिचान गर्दै हिमाल, भूकम्पीय जोखिम, पहिरो तथा बाढी र पुरातात्त्विक सम्पदालाई भू–प्राविधिक अध्ययनका अद्वितीय सम्भावना रहेकोले यस पटक नेपालमा अन्तराष्ट्रियस्ताकाे सम्मेलन  आयोजना गरिएको समाजका महासचिव इ. कल्पना अधिकारी बताउनुहुन्छ ।

भूप्रविधि समाज नेपालका अनुसार International Society for Soil Mechanics and Geotechnical Engineering ( ISSMGE Asia) अन्तर्गतको ११औँ Asian Young Geotechnical Engineers Conference (11th AYGEC) र AGSSA अन्तर्गत प्रस्तावित पहिलाे South Asian Conference on Geotechnics (SACG) सँग संयुक्त रूपमा नेपालमा आयोजना गर्न लागिएको हो। नेपालमा पहिलोपटक यी दुई प्रमुख क्षेत्रीय सम्मेलन एउटै मञ्चमा हुने भएकाले यसलाई महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

सम्मेलन “Mountain Geotechnics for Infrastructure Development” (पूर्वाधार विकासका लागि पर्वतीय भू-प्रविधि) विषयमा केन्द्रित हुने जनाइएको छ ।

सम्मेलनमा ३० भन्दा बढी देशका ५०० भन्दा बढी सहभागी, २४० भन्दा बढी प्राविधिक कार्यपत्र प्रस्तुति हुने अपेक्षा आयोजकले जनाएको छ। सम्मेलनका कार्यपत्रहरू अन्तर्राष्ट्रिय प्रकाशक स्प्रीन्जर (Springer) मार्फत प्रकाशित हुनेछन्।

युवा केन्द्रित ११औँ एवाइजीइसी अन्तर्गत विद्यार्थी तथा प्रारम्भिक करियरका पेशेवरहरूलाई न्यून दर्ता शुल्क, उत्कृष्ट कार्यपत्र पुरस्कार, अन्तर्राष्ट्रिय विज्ञहरूसँग प्रत्यक्ष संवाद, स्वयंसेवा र नेतृत्वका अवसर उपलब्ध गराइने भूप्रविधि समाजले जनाएको छ।

समाजले सम्मेलनमा सहभागी हुन आउनेहरुका लागि नेपालबाट युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका १० वटा स्थान, हिमाली क्षेत्र, ऐतिहासिक शहरहरू तथा सांस्कृतिक अनुभवसमेत विशेष आकर्षण हुने उल्लेख गरेको छ।

उक्त सम्मेलन घोषणा कार्यक्रममा सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय विज्ञ, वरिष्ठ इन्जिनियर तथा विभिन्न इन्जिनियरसम्बद्ध संस्थाका प्रतिनिधिहरू सहभागी थिए। समाजले जिओमाण्डु २०२७ को तयारीका लागि सरकारी निकाय, शैक्षिक संस्था, निर्माण व्यवसायी, विकास साझेदार तथा सञ्चारमाध्यमको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै व्यापक सहभागिताको लागि आह्वान समेत गरेको छ।

वि।सं. २०५१ ९मा स्थापना भएको भूप्रविधि समाज नेपाल, सन् १९९५ देखि आईएसएसएमजीई को सदस्य संस्था हो। अनुसन्धान, क्षमता विकास, सहकार्य र पेशागत उत्कृष्टतामार्फत नेपाललाई दिगो र सक्षम पूर्वाधारयुक्त बनाउने उद्देश्य राखेर अनवरत काम गरिरहेको समाजको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्