पूर्वाधार वाच, काठमाडौं।
पश्चिम नेपालको एक अग्रणी सिमेन्ट उद्योग भुगर्भ सिमेन्ट लिमिटेडले आफ्नो ९औँ वार्षिक साधारणसभा (AGM) सम्पन्न गरेको छ। साधारणसभामा कम्पनीको हालसम्मको समग्र प्रगति समीक्षा गर्नुका साथै आगामी विस्तार योजना, उत्पादन क्षमता अभिवृद्धि र लगानीकर्तामैत्री रणनीतिबारे विस्तृत छलफल गरिएको छ।
कम्पनीले हाल ओपीसी र पीपीसी दुवै प्रकारका गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको जानकारी दिँदै हाल उद्योगको क्लिंकर उत्पादन क्षमता प्रतिदिन ३०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता प्रतिदिन ९०० मेट्रिक टन रहेको जनाएको छ। आवश्यक कच्चा पदार्थ उद्योगकै आफ्नै चुनढुंगा खानीबाट प्राप्त हुने भएकाले उत्पादन लागत नियन्त्रणमा रहेको कम्पनीको दाबी छ।
सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष नन्दी केशर पौड्यालले पछिल्लो आर्थिक वर्षमा उद्योगले उत्पादन, बिक्री तथा वित्तीय अनुशासनमा उल्लेखनीय सुधार गरेको बताए। उनका अनुसार कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ मा ५००–१००० मेट्रिक टन क्षमताको नयाँ उत्पादन लाइन विस्तार गर्ने योजना अघि बढाइसकेको छ।
आईपीओ र वित्तीय प्रगति भुगर्भ सिमेन्टले चुक्ता पुँजी वृद्धि गर्दै सर्वसाधारणका लागि २० प्रतिशत साधारण शेयर (IPO) निष्कासन गर्ने प्रक्रिया अघि बढाइसकेको छ। यसका लागि नेपाल धितोपत्र बोर्ड (SEBON) मा आवश्यक प्रक्रिया पूरा भइसकेको कम्पनीले जनाएको छ।
आर्थिक पक्षमा हेर्दा, कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा कारोबारमा उल्लेखनीय वृद्धि गर्दै नाफा आर्जन गर्न सफल भएको जानकारी सभामा प्रस्तुत गरिएको थियो। वित्तीय अनुशासन, कर्जा व्यवस्थापन र उत्पादन क्षमताको सही उपयोगले कम्पनीलाई दिगो बाटोमा अघि बढाएको अध्यक्ष पौड्यालको भनाइ छ।
रोजगारी र सामाजिक उत्तरदायित्व
भुगर्भ सिमेन्टले उद्योग, कार्यालय तथा खानीमार्फत प्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेको जनाएको छ भने ढुवानी, वितरण र डिलर नेटवर्कमार्फत अप्रत्यक्ष रोजगारीसमेत थपिएको छ। साथै कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र स्थानीय समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। स्थानीय विद्यालयमा सहयोग, वृक्षारोपण, सामाजिक सुरक्षा कोषमा योगदान तथा अन्य सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता पनि सभामा व्यक्त गरिएको थियो।
अध्यक्ष पौड्यालले पश्चिम नेपालको निर्माण क्षेत्रमा गुणस्तरीय सिमेन्टको आपूर्ति सुनिश्चित गर्दै “गर्ने देशकै बलियो” भन्ने नारालाई व्यवहारमा उतार्दै जाने प्रतिबद्धता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्