images
images
images

सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण, ३२७ घरमा पुग्यो खानेपानी

images

गुल्मी । पछिल्लो समय गुल्मीमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ परियोजनामार्फत ३२७ घरमा खानेपानी पुर्‍याइएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

वर्षौँदेखि खानेपानीको सास्ती भोग्दै आएका यहाँका बासिन्दाले अब घरदैलोमै खानेपानीको सुविधा पाएका छन् । बहुपक्षीय लगानीमा सम्पन्न यस परियोजनाका लागि लुम्बिनी प्रदेश सरकारबाट १५ लाख, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ५५ लाख ३३ हजार र ग्रामीण प्रविधि केन्द्रबाट २९ लाख ६१ हजार रुपैयाँ प्राप्त भएको थियो ।

यस्तै, गुल्मीदरबार गाउँपालिकाले २२ लाख र वाइन टु वाटर नेपालले ५५ लाख ६२ हजार रुपैयाँ लगानी गरेका छन् । स्थानीय उपभोक्ताले समेत २४ लाख रुपैयाँ बराबरको श्रमदान गरेपछि यो ठुलो खानेपानी आयोजना सफल भएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताए ।

ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा सञ्चालित यो परियोजनाले बलिथुमका अधिकांश घरलाई समेटेको छ । जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगमार्फत जलवायु परिवर्तन उत्थानशीलता र जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो ।

स्थानीय सरकारको एकल लगानीले मात्र सम्भव नहुने यस्ता ठुला परियोजना दातृ निकायको सहयोगमा सम्पन्न हुँदा घरघरमा सहजै पानी पुगेको गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेँगाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्