पूर्वाधार वाच, भक्तपुर।
भक्तपुर इँट्टा उद्योग व्यवसायी संघले आफ्नो ३०औँ वार्षिक साधारणसभा आज भक्तपुरमा भव्य रूपमा सम्पन्न गरेको छ। इँट्टा उद्योगसँग सम्बन्धित व्यवसायीहरूको हकहित संरक्षण, उद्योगमा देखिएका समसामयिक समस्या तथा भावी कार्यदिशामाथि छलफल गर्न आयोजना गरिएको उक्त सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिब प्रेम सुवाल र अन्य अतिथिहरूले दीप प्रज्वलन गरी गरेका थिए।

उद्योग संकटमा, सरकारको ध्यानाकर्षण
सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष नातिभाइ ह्योम्बाले पछिल्लो समय इँट्टा उद्योग गम्भीर आर्थिक संकटमा फसेको बताउनुभयो। कोइलालगायत कच्चा पदार्थको मूल्यमा तीव्र वृद्धि, बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदर र निर्माण क्षेत्रमा आएको सुस्तताले उद्योगीहरूलाई गम्भीर असर पारेको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “एकातर्फ उत्पादन लागत निरन्तर बढिरहेको छ भने अर्कोतर्फ बजारमा इँट्टाले उचित मूल्य पाउन सकेको छैन। यस्तो अवस्थामा उद्योग जोगाउन सरकारबाट उद्योगमैत्री नीति, सहुलियतपूर्ण कर्जा र स्पष्ट वातावरणीय मापदण्ड आवश्यक छ।”
वातावरणमैत्री प्रविधि प्रयोगमा जोड
सभामा सहभागी वक्ताहरूले वातावरणीय प्रदूषण न्यूनीकरणका लागि Zig-Zag प्रविधिलगायत आधुनिक र कम धुवाँ उत्सर्जन गर्ने प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। व्यवसायीहरूले वातावरण संरक्षणप्रति आफूहरू जिम्मेवार रहेको उल्लेख गर्दै प्रविधि रूपान्तरणका लागि सरकारी प्रोत्साहन, सहुलियत र प्रविधि हस्तान्तरण आवश्यक रहेको मागसमेत राखेका थिए।
सम्मान र कदर कार्यक्रम
साधारणसभाको अवसरमा इँट्टा उद्योगको विकासमा दीर्घकालीन योगदान पुर्याएका अग्रज उद्योगीहरू तथा उत्कृष्ट कार्य गर्ने श्रमिकहरूलाई दोसल्ला ओढाएर र प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो। संघले आगामी दिनमा पनि श्रमिकको सम्मान र प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सभाबाट उठाइएका प्रमुख बुँदाहरू
-
प्रविधि रूपान्तरण: परम्परागत भट्टालाई आधुनिक, वातावरणमैत्री र कम प्रदूषण गर्ने प्रविधिमा रूपान्तरण गर्ने प्रतिबद्धता।
-
आर्थिक दबाब: उच्च बैंक ब्याजदर र इन्धन मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै गएको चिन्ता।
-
नीतिगत सुधारको माग: उद्योगमैत्री नीति, सहुलियतपूर्ण कर्जा र स्पष्ट कार्यविधिको आवश्यकता।
-
एकताको आह्वान: सबै इँट्टा उद्योगी एकजुट भई वर्तमान संकटको सामूहिक रूपमा सामना गर्ने निर्णय।
उल्लेख्य सहभागिता
साधारणसभामा भक्तपुर जिल्लाका ६१ वटै इँट्टा उद्योगका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारीहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा उद्योगीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्