नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्लाको वरिष्ठ उपाध्यक्ष पदमा हालै निर्वाचित सफल उद्यमी तथा समाजसेवी नारायण प्रसाद नेपाल आज व्यवसाय र सामाजिक सेवाको क्षेत्रमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ।
प्रारम्भिक जीवन र शिक्षा
वि.सं. २०३५ साल चैत महिनामा सर्लाही जिल्लाको हरिओन गाविस वडा नं. ४ (हाल हरिवन नगरपालिका वडा नं. ९, नयाँरोड विष्णुपुर) मा जन्मिनुभएका नारायण प्रसाद नेपाल पिता भीमनाथ नेपाल र माता चेलीमाया नेपालका माइलो सन्तान हुनुहुन्छ।
उहाँले सर्लाहीकै विष्णुपुर जनता माध्यमिक विद्यालयबाट कक्षा ३ सम्म, दनुवारीमा कक्षा ६ सम्म तथा श्री चतुरभुजेश्वर जनता उच्च माध्यमिक विद्यालय, सुखेपोखरीबाट कक्षा १० सम्म अध्ययन गर्नुभयो।

संघर्षपूर्ण काठमाडौं यात्रा
कामको सिलसिलामा वि.सं. २०५२ सालमा काठमाडौं प्रवेश गर्नुभएका उहाँले रोजगारी गर्दै गाउँको पढाइलाई निरन्तरता दिनुभयो। वि.सं. २०५४ सालको एसएलसी परीक्षा दोस्रो श्रेणीमा उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि काठमाडौंमै बसाइ सरेर पाटन संयुक्त क्याम्पसमा अध्ययन सुरु गर्नुभयो।
पढाइसँगै रोजगारीलाई निरन्तरता दिँदै कठिन परिस्थितिका बाबजुद सानोतिनो व्यवसाय सञ्चालन गर्नुभयो र ललितपुरलाई कर्मथलो बनाएर अघि बढ्न सफल हुनुभयो।
व्यवसायिक सफलता
निर्माण सामग्री सप्लायर्सको व्यवसायबाट उद्यमशील यात्रामा होमिनुभएका नेपाल हाल ताराचन्द्र खाद्य स्टोरका सञ्चालक हुनुहुन्छ। सानै उमेरमा कठिन मेहनत, इमानदारी र अनुशासनका कारण आज उहाँ सफल उद्यमीको रूपमा स्थापित हुनुभएको छ। उहाँको शालिन, नम्र र मिलनसार स्वभाव नै सफलताको मुख्य आधार रहेको सहकर्मीहरू बताउँछन्।

उद्योग–व्यापार संगठनमा सक्रिय भूमिका
वि.सं. २०७९ साल भदौ ३० गते नेपाल उद्योग व्यापार संघ, ललितपुर जिल्लाको जिल्ला सचिव पदमा निर्वाचित हुनुभएका नेपाल निरन्तर सक्रिय भूमिकाका कारण वि.सं. २०८२ सालसम्म आइपुग्दा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुन सफल हुनुभयो।
उहाँ व्यवसायीहरूको हक–हित संरक्षण, नीतिगत सुधार र संगठन सुदृढीकरणमा अग्रपंक्तिमा रहेर काम गर्दै आउनुभएको छ।
सामाजिक सेवामा उल्लेखनीय योगदान
ललितपुर महानगरपालिका वडा नं. १४, शोभानगर टोल विकास संस्थामा सदस्य हुँदै उपाध्यक्ष र पछि अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएका नेपालले वि.सं. २०८० कार्तिक १४ देखि २०८१ जेठ २२ गतेसम्म अध्यक्षका रूपमा टोलको विकासमा महत्वपूर्ण योगदान दिनुभयो।
ढल, खानेपानी, सडक तथा सामुदायिक पूर्वाधार निर्माणदेखि सामाजिक सुख–दुःखमा साथ दिँदै उहाँ आज पनि वरिष्ठ सल्लाहकारका रूपमा टोलको सेवामा निरन्तर सक्रिय हुनुहुन्छ।
उद्यमशीलता र सेवाभावको दुर्लभ संयोजन
व्यवसायसँगै सामाजिक सेवामा उत्तिकै सक्रिय रहनु आजको समयमा दुर्लभ उदाहरण हो।
पैसा मात्र होइन सेवाभावलाई पनि जीवनको मूल मन्त्र बनाएका नारायण प्रसाद नेपाल त्यही दुर्लभ पात्रमध्ये एक हुनुहुन्छ।
उज्ज्वल भविष्यको अपेक्षा
सर्लाहीमा जन्मिएर ललितपुरको विकास निर्माण र उद्योग–व्यवसाय क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सफल नेपालको नेतृत्व क्षमता, शालिनता र समर्पणले उहाँ अझ उच्च स्थानमा पुग्ने संकेत गर्छ।
उद्योग, व्यापार र सामाजिक क्षेत्रमा निरन्तर योगदान दिने उहाँलाई राज्यले भविष्यमा सम्मान गर्नेछ भन्ने विश्वास धेरैले व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)













प्रतिक्रिया दिनुहोस्