images
images
images

विद्युत् प्राधिकरणभित्रै सेटिङ : अभियोगपत्रले खोल्यो तार काण्डको रहस्य, हाकिमदेखि सुरक्षा गार्डसम्म प्रतिवादी

images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा ठूलो परिमाणको तामाको तार हिनामिना गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन केन्द्र प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार पोखरा वितरण केन्द्रमा कार्यरत रहँदा ९०० मिटरभन्दा बढी बहुमूल्य तामाको तार गायब पारिएको अभियोगमा तत्कालीन कार्यालय प्रमुख राजीव कुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोक प्रसाद काफ्ले तथा सुरक्षा गार्डहरू राम कुमार पुर्जा र हेम शर्मा रिमाललाई प्रतिवादी बनाइएको हो ।

आयोगले केन्द्र प्रमुख सिंह र स्टोर प्रमुख काफ्लेविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपैयाँ बराबरको बिगो कायम गर्दै सोही अनुपातमा जरिवाना र कैद सजायको माग गरेको छ । सुरक्षा गार्ड पुर्जा र रिमाललाई योजनाबद्ध रूपमा अपराध सम्पन्न गर्न मतियार बनेको ठहर गर्दै मुख्य कसुरदार सरह नै सजाय र बिगो असुल उपर गर्न मागदाबी लिइएको छ ।

पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने कोत्रे पोल प्लान्टको स्टोरमा मौज्दात रहेका विभिन्न परिमाणका बहुमूल्य तामाका तारहरू हराएको तथ्य अनुसन्धानबाट पुष्टि भएपछि आयोगले मुद्दा अघि बढाएको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा स्टोरमा रहेको उक्त तार हराएको जानकारी २०८० वैशाख ५ गते स्टोर प्रमुख काफ्लेले कार्यालय प्रमुखलाई दिएका थिए । तर, अनुसन्धानका क्रममा कार्यालय प्रमुख, स्टोर प्रमुख र सुरक्षा गार्डहरूको आपसी मिलेमतोमा योजनाबद्ध रूपमा तार गायब पारिएको ठोस प्रमाण फेला परेको अभियोगपत्रमा उल्लेख छ ।

आयोगले यो घटनालाई सार्वजनिक संस्थाको सम्पत्ति दुरुपयोग गर्दै राज्यलाई आर्थिक क्षति पुर्‍याउने गम्भीर भ्रष्टाचारको रूपमा लिँदै विशेष अदालतमार्फत कडा सजायको माग गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्