images
images
images

सुपर मादी हाइड्रोपावरको १७औँ साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव

images

पूर्वाधार वाच, काठमाडौं।

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले असोज १ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा साधारणसभा सम्पन्न गरेको हो । सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा कम्पनीको आगामी योजनासहित विभिन्न प्रस्तावमाथि छलफल गरिएको थियो ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसमध्ये १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश रहेको छ । १५ प्रतिशत बोनस शेयरको रकम करिब ३४ करोड ७२ लाख रुपैयाँ र नगद लाभांश करिब १ करोड ८२ लाख रुपैयाँ बराबर रहेको छ । कम्पनीको १७औँ साधारणसभाको एजेन्डामा यी लाभांशसम्बन्धी प्रस्ताव समावेश गरिएको थियो ।

५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने योजना

साधारणसभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि अघि बढाएको छ । हकप्रदबाट प्राप्त हुने रकम २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजना निर्माणमा परिचालन गर्ने कम्पनीको योजना छ । साधारणसभाको एजेन्डामा अपर तमोर आयोजनाका लागि २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्पष्ट रूपमा समावेश गरिएको थियो ।

अपर तमोर जलविद्युत् आयोजना ताप्लेजुङमा निर्माण हुने २८५ मेगावाट क्षमताको ‘पिकिङ रन अफ रिभर’ आयोजना हो । आयोजनाको प्रवर्द्धक तमोर इनर्जी प्रालि हो । कम्पनीका अनुसार आयोजनाको लाइसेन्स क्षमता २८५ मेगावाट र पीपीए क्षमता २५५.२८१ मेगावाट रहेको छ ।

चुक्ता पुँजीमा उल्लेख्य वृद्धि हुने

हाल सुपर मादी हाइड्रोपावरको चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पुँजी करिब २ अर्ब ६६ करोड २५ लाख ३७ हजार ५०० रुपैयाँ पुग्नेछ ।

त्यसपछि प्रस्तावित ५० प्रतिशत हकप्रद शेयर निष्कासन भएमा कम्पनीको चुक्ता पुँजी करिब ३ अर्ब ९९ करोड ३८ लाख रुपैयाँ पुग्नेछ । यसबाट कम्पनीको आगामी परियोजनामा लगानी गर्ने क्षमता थप विस्तार हुने देखिएको छ ।

नाफा २७७ प्रतिशतभन्दा बढीले बढ्यो

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी विद्युत् बिक्री आम्दानी गरेको थियो । सो अवधिमा कम्पनीको खुद नाफा ४२ करोड ५९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ११ करोड २७ लाख रुपैयाँको तुलनामा २७७.६८ प्रतिशतले बढी हो । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४० पैसा कायम भएको थियो ।

उक्त अवधिमा विद्युत् बिक्री आम्दानी अघिल्लो वर्षको तुलनामा १८.१० प्रतिशतले बढेको थियो भने वित्तीय लागत १५.२९ प्रतिशतले घटेर ४६ करोड ५ लाख रुपैयाँमा झरेको वित्तीय विवरणमा उल्लेख छ ।

४४ मेगावाटको सुपर मादी आयोजना सञ्चालनमा

सुपर मादी हाइड्रोपावरले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार यो मादी खोलामा आधारित रन अफ रिभर आयोजना हो । आयोजनाबाट वार्षिक करिब २४२.६५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने गरी संरचना विकास गरिएको छ ।

आयोजनामा तीनवटा फ्रान्सिस टर्बाइन जडान गरिएको छ भने उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो प्लान्ट सञ्चालन तथा कर्मचारी व्यवस्थापनको काम ‘व्यवस्थापन हाइड्रोपावर म्यानेजमेन्ट सर्भिस प्रा.लि.’ सँगको सम्झौतामार्फत गर्दै आएको जनाएको छ ।

साधारणसभामा कम्पनीका अध्यक्ष धनराज आचार्यले कम्पनीको प्रगति तथा आयोजनाको सञ्चालनमा सहयोग पुर्‍याउने शेयरधनी, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नियमनकारी निकाय, आयोजना प्रभावित स्थानीय बासिन्दा, कर्मचारी तथा लेखापरीक्षकप्रति धन्यवाद व्यक्त गरेका थिए ।

कम्पनीले ४४ मेगावाटको सञ्चालनमा रहेको आयोजनाबाट प्राप्त अनुभव र आम्दानीलाई आगामी दिनमा २८५ मेगावाटको अपर तमोर आयोजनामा लगानी विस्तार गर्ने आधारका रूपमा अघि बढाउने योजना राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्