images
images
images

सौर्य कृषि कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

कृषि तथा पशुपन्छी व्यवसायमा सक्रिय सौर्य कृषि कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा भदौ ३१ गते बुधबार साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहलगायत वित्तीय विवरणमाथि समेत छलफल गरिएको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, कम्पनीको शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने, सञ्चालकहरूको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिकसम्बन्धी प्रस्तावमा समेत छलफल गरेको छ । साथै, सञ्चालक समितिका सदस्यहरूको मनोनयनसम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिएको थियो ।

व्यवसाय विस्तारमा जोड

कम्पनीका अध्यक्ष सुमित्रा देवी न्यौपानेले प्रस्तुत गरेको अध्यक्षको मन्तव्यअनुसार सौर्य कृषि कम्पनीले कृषि क्षेत्रमा व्यावसायिक गतिविधि विस्तार गर्दै आएको छ । कम्पनीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरमा आधुनिक दाना उद्योग स्थापना गरी उत्पादन सुरु गरेको जनाएको छ ।

कम्पनीले करिब १० मेट्रिक टन प्रतिघण्टा उत्पादन क्षमता रहेको दाना उद्योगबाट कुखुरा, गाई, भैंसी, बाख्रा, माछा तथा बंगुरका लागि उच्च गुणस्तरको दाना उत्पादन तथा बिक्री गर्दै आएको जनाएको छ । उक्त उद्योगले २०७९ मंसिरदेखि व्यावसायिक रूपमा दाना उत्पादन सुरु गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

दुईवटा मास दाना कारखाना सञ्चालनमा

कम्पनीको पूर्ण स्वामित्वमा रहेको गौरीदह नगरपालिकाको बेगुनधुरास्थित उन्नत एग्रोकेट प्रालिमा भारतको LARK कम्पनीबाट निर्मित दुई टन प्रतिघण्टा क्षमताका दुईवटा मास दाना कारखाना रहेको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले नवलपुरको गैँडाकोट नगरपालिका–४ अमरापुरीमा जापानी प्रविधिको SATAKE कम्पनीको प्रविधिमा आधारित आधुनिक चामल कारखानासमेत सञ्चालन गरिरहेको जनाएको छ । सो उद्योगमा धानमबेसी गुरु कम्पनीसँग मिलेर श्री सूर्यादय खाद्य उद्योग लिमिटेडमार्फत चामलको व्यापार भइरहेको उल्लेख छ ।

तोरीको तेल र अर्गानिक बासमती चामल उत्पादन

सौर्य कृषि कम्पनीले बर्दियास्थित कारखाना हाताभित्र प्रतिघण्टा एक मेट्रिक टन तोरी प्रशोधन गर्ने आधुनिक तेल मिल स्थापना गरी शुद्ध तोरीको अर्गानिक तेल उत्पादन तथा बिक्री गर्दै आएको जनाएको छ ।

सोही स्थानमा लोकल बासमती धान प्रशोधन गरी अर्गानिक बासमती चामल उत्पादन तथा बिक्रीसमेत भइरहेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।

पोल्ट्री र कृषि क्षेत्रमा थप लगानी गर्ने योजना

कम्पनीले विभिन्न फार्ममार्फत ब्रोइलर तथा लेयर्स जातका कुखुरा पालन गर्दै आएको छ । उत्पादित दानाको बिक्री विस्तारका लागि ब्रोइलर कुखुरापालक कृषकसँग करारमा कुखुरापालन गर्ने योजना अघि बढाइएको अध्यक्षको मन्तव्यमा उल्लेख छ ।

कम्पनीले सलाही जिल्लाको हरिवनमा कुखुरा फार्म तथा करारमा खेती गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेको जनाएको छ । कुखुराको चल्ला, दाना उत्पादन तथा बिक्री, कुखुरा खरिद तथा प्रशोधनलगायत गतिविधि सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

सिमेन्ट उद्योग स्थापना गर्ने तयारी

व्यवसाय विस्तारअन्तर्गत कम्पनीले आवश्यक कच्चा पदार्थमध्ये भटमास तथा धानको ढुट्टो, पिना र कच्चा तेल उत्पादन गर्ने सोल्भेन्ट कारखाना स्थापना गर्ने तयारीसमेत गरेको छ ।

कम्पनीका अनुसार प्रस्तावित उद्योगमा दैनिक १५० मेट्रिक टन धानको ढुट्टो र २०० मेट्रिक टन भटमास प्रशोधन गर्ने क्षमता रहनेछ । उक्त उद्योगको निर्माण कार्य विक्रम संवत् २०८३ साल माघ महिनाभित्र सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

नयाँ प्रजाति र प्रविधिमा अनुसन्धान

सौर्य कृषि कम्पनीले आगामी दिनमा आधुनिक प्रविधिमा आधारित उद्योग तथा पोल्ट्री व्यवसायमा नयाँ प्रजातिको खोज तथा विकास गर्ने योजना बनाएको जनाएको छ । करार खेती तथा सामूहिक रूपमा भैंसीपालनलगायत कार्यक्रममार्फत कृषकसँग सहकार्य विस्तार गर्ने लक्ष्य पनि कम्पनीले अघि सारेको छ ।

कम्पनीले समय–समयमा कृषकसँग प्रत्यक्ष भेटघाट तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै उत्पादन, सेवा तथा योजनाबारे जानकारी दिने गरेको जनाएको छ । यस्ता कार्यक्रमले कम्पनी र कृषकबीचको सम्बन्ध थप मजबुत बनाएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

सौर्य कृषि कम्पनीले कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणमा योगदान पुर्‍याउने लक्ष्यसहित लगानी विस्तार गर्दै आएको जनाएको छ । कम्पनीले सर्वसाधारणलाई समेत शेयरमा लगानीको अवसर प्रदान गर्ने उद्देश्यले शेयर सार्वजनिक निष्कासनको प्रक्रिया अघि बढाइरहेको जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्