images
images
images

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

images

पूर्वाधार वाच, काठमाडौं।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ । बैंकले भदौ २२ गते सोमबारदेखि नियमित कार्यालय समयबाहेक थप एक घण्टाका लागि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

सन्ध्याकालीन काउण्टरमार्फत ग्राहकले चेक भुक्तानी, नगद जम्मालगायत सीमित बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । अब ग्राहकले साँझ ५ बजेदेखि ६ बजेसम्म कर्पोरेट शाखाबाट उपलब्ध सेवाहरू लिन सक्नेछन् ।

नियमित कार्यालय समयमा आवश्यक बैंकिङ कारोबार गर्न नसकेका ग्राहकलाई अत्यावश्यक कारोबार सम्पन्न गर्न सहज हुने अपेक्षा बैंकले गरेको छ ।

४८ लाखभन्दा बढी ग्राहकलाई सेवा

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेटेर ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बैंकका अनुसार हाल ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जासहित एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

बैंकका सूचना अधिकारी तथा उप–कार्यकारी अधिकृत भीम प्रसाद घिमिरेका अनुसार कर्पोरेट शाखामा सुरु गरिएको सन्ध्याकालीन काउण्टर सेवाले नियमित कार्यालय समयपछि पनि सीमित बैंकिङ सेवा आवश्यक पर्ने ग्राहकलाई थप सुविधा पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्