images
images
images

महिमा बहुउद्देश्यीय सहकारीको १३औँ साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

महिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंको जडिबुटीस्थित रोयल जडिबुटी बैंक्वेटमा सम्पन्न भएको छ । सञ्चालक समितिको २०८३ साउन २७ गतेको निर्णयअनुसार बोलाइएको सभा दिउँसो १ बजे सुरु भएको थियो ।

साधारणसभामा अध्यक्ष जनक प्रकाश थापाले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरिएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण र अघिल्लो वर्षका समिति तथा उपसमितिका निर्णय अनुमोदन गर्ने विषयमा समेत छलफल भएको थियो ।

सहकारी एकीकरणदेखि भवन निर्माण कोषसम्म

सभामा उद्देश्य तथा विषय मिल्ने अन्य सहकारी संस्थासँग एकीकरण तथा प्राप्ति गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको थियो । विभिन्न नीति तथा कार्यविधि पारित गर्ने र संरक्षित पूँजी फिर्ता कोषमा रहेको रकम भवन निर्माण कोषमा स्थानान्तरण गर्ने प्रस्तावसमेत कार्यसूचीमा समावेश थियो ।

त्यसैगरी, धितो लिलाम तथा गैर–बैंकिङ सम्पत्ति प्राप्ति र बिक्री गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा निर्णय पुस्तिकामा हस्ताक्षरका लागि सदस्यबाट प्रतिनिधि चयन गर्ने विषयमा पनि छलफल गरिएको थियो ।

२०७१ देखि कारोबार सुरु

अध्यक्ष थापाद्वारा प्रस्तुत प्रतिवेदनअनुसार महिमा बहुउद्देश्यीय सहकारी २०७० फागुन २८ गते तत्कालीन सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभाग र डिभिजन सहकारी कार्यालय ललितपुरबाट सहकारी ऐन, २०४८ बमोजिम स्थापना भएको हो । संस्थाले २०७१ माघ १० गतेदेखि विधिवत् कारोबार सुरु गरेको प्रतिवेदनमा उल्लेख छ ।

ललितपुर, काठमाडौं र भक्तपुरलाई कार्यक्षेत्र बनाएको संस्था हाल प्रदेश सहकारी महाशाखा तथा नवगठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नियमनमा रहेको जनाएको छ । संस्था सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५, प्रदेश सहकारी ऐन, २०७६ तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०७५ अनुसार सञ्चालन हुँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

साना व्यवसायीलाई बिना धितो ऋण

संस्थामा हाल ११ जना कर्मचारी कार्यरत रहेको तथा सञ्चालक र समिति पदाधिकारीलाई बैठक भत्ता मात्र उपलब्ध गराउने व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले साना व्यवसायी, कृषि, घरेलु उद्योग तथा हस्तकला व्यवसायमा संलग्न सदस्यलाई सामूहिक जमानीमा अधिकतम ३ लाख रुपैयाँसम्मको बिना धितो ऋण प्रवाह गर्दै आएको छ । सदस्यका लागि सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमसँगै सिस्टेम्याटिक इन्भेष्टमेन्ट प्लान र लाइफ सेक्योर प्लानलगायतका बचत योजनासमेत सञ्चालनमा रहेको जनाइएको छ ।

३५ करोड कारोबार पुर्‍याउने लक्ष्य

संस्थाले आर्थिक वर्ष २०८३/८४ मा कारोबार विस्तार गरी ३५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ । त्यसका लागि लगानीका नयाँ क्षेत्र पहिचान, पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन, कृषि तथा उत्पादन क्षेत्रको विकास र साना तथा सीमान्तकृत सदस्यको वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, कर्मचारी तथा पदाधिकारीका लागि तालिम तथा अवलोकन भ्रमण सञ्चालन गर्ने र सदस्यलाई आफ्नै भवनबाट सेवा उपलब्ध गराउन कार्यालय भवन निर्माण गर्ने योजना पनि संस्थाले अघि सारेको छ ।

सभाको समापनमा अध्यक्ष थापाले सदस्य, शुभेच्छुक तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गर्दै विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्