images
images
images

अन्नपूर्ण बहुमुखी सहकारीको २९औँ वार्षिक साधारण सभा सम्पन्न

images

पूर्वाधार वाच, भक्तपुर । अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्यामसुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न सभाले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, भावी योजना तथा सदस्य हितसँग सम्बन्धित विभिन्न प्रस्तावमाथि छलफल गर्दै आवश्यक निर्णय गरेको छ ।

साधारण सभामा वडा नं. ३ का अध्यक्ष तथा प्रवक्ता कृष्णहरि आचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने वडा नं. २ का अध्यक्ष प्रदीप कार्की विशेष अतिथि रहेका थिए । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष मुकुन्दप्रसाद दाहाललगायत विभिन्न व्यक्तित्व तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत सचिवको वार्षिक प्रतिवेदनलाई छलफलपछि पारित गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित आय–व्यय तथा बजेट, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदनसमेत अनुमोदन गरिएको संस्थाले जनाएको छ ।

साधारण सभाबाट आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ । साथै आर्थिक वर्ष २०८२/०८३ को लाभांश वितरण तथा संरक्षित पुँजीकोषको बाँडफाँट, ब्याजदर परिवर्तन गर्ने अख्तियारी तथा संस्थाको विनियम र आवश्यक कार्यविधि संशोधन एवं निर्माणसम्बन्धी प्रस्तावमाथि समेत निर्णय भएको छ ।

त्यस्तै, सञ्चालक समिति तथा लेखा एवं सुपरिवेक्षण समितिका पदाधिकारीको बैठक भत्ता र सेवा–सुविधा, चालु अवधिमा सञ्चालक समितिबाट भएका निर्णयको अनुमोदन तथा शेयर सदस्यबाट प्राप्त सुझावमाथि पनि सभामा छलफल गरिएको थियो । साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न आवश्यक सदस्य चयनसमेत गरिएको जनाइएको छ ।

साधारण सभाको अवसरमा संस्थाले ‘अन्नपूर्ण उत्कृष्ट शैक्षिक सम्मान पुरस्कार–२०८३’ प्रदान गर्दै एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने शेयर सदस्यका छोराछोरीलाई सम्मान तथा पुरस्कृत गरेको थियो । संस्थाले सदस्यको आर्थिक उन्नतिसँगै उनीहरूका परिवारका शैक्षिक उपलब्धिलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कृष्णहरि आचार्यले सहकारी संस्थालाई बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी सदस्यको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने संस्थाका रूपमा विकास गर्नुपर्ने बताए । सहकारीप्रति सदस्यको विश्वास कायम राख्न पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

विशेष अतिथि प्रदीप कार्कीले वर्तमान आर्थिक परिस्थितिअनुसार सहकारी संस्थाले सदस्यको बदलिँदो आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्ने धारणा राखे । संस्थाको दीर्घकालीन स्थायित्वका लागि सदस्यको सक्रिय सहभागिता, आन्तरिक अनुशासन र आपसी विश्वास महत्वपूर्ण आधार हुने उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष श्यामसुन्दर बस्नेतले अन्नपूर्ण बहुमुखी सहकारीलाई वर्तमान अवस्थासम्म पुर्‍याउन शेयर सदस्य, पूर्वअध्यक्ष, सञ्चालक समिति तथा कर्मचारीले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे । आगामी दिनमा संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै सहकारीको मूल मर्मअनुसार अघि बढाइने उनले बताए ।

उनले ‘आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी’ भन्ने भावनालाई आत्मसात गर्दै सदस्यको विश्वासलाई संस्थाको सबैभन्दा ठूलो सम्पत्तिका रूपमा लिएर काम गरिरहेको उल्लेख गरे ।

वि.सं. २०५४ साल भदौ १२ गते तत्कालीन जिल्ला सहकारी कार्यालय भक्तपुरमा विधिवत् दर्ता भएको अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडले भक्तपुर जिल्लालाई प्रारम्भिक कार्यक्षेत्र बनाएर आफ्नो सेवा सुरु गरेको थियो । स्थापना भएको २८ वर्ष पूरा गरी संस्थाले २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

हाल संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै काभ्रेपलाञ्चोक जिल्ला तथा काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहमा समेत सेवा विस्तार गरेको जनाएको छ । काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, बूढानीलकण्ठ नगरपालिकाका वडा नं. १०, ११ र १२ तथा गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५ देखि ९ सम्म संस्थाको कार्यक्षेत्र रहेको छ ।

साधारण सभाले विगतका उपलब्धि र गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सदस्यको विश्वास अभिवृद्धि, संस्थागत सुशासन, पारदर्शिता तथा दिगो आर्थिक विकासलाई प्राथमिकतामा राखेर सहकारीको गतिविधि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्