पूर्वाधार वाच, काठमाडौं।
देशको आर्थिक मन्दी र लगानीका लागि प्रतिकूल वातावरणका बीच युवा उद्यमीहरूको लगानीमा नयाँ आतिथ्य व्यवसाय ‘हिमालयन दरबार’ सञ्चालनमा आएको छ । स्वदेशमै लगानी विस्तार गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित हिमालयन दरबार प्राइभेट लिमिटेडले आफ्नो सेवा सुरु गरेको जनाएको छ ।
कम्पनीले निर्धारित समयभन्दा अगावै सफ्ट ओपनिङमार्फत सम्पूर्ण सेवा सञ्चालनमा ल्याएको हो । व्यवसायको सुरुवातसँगै कम्पनीले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।
पछिल्लो समय देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति संवेदनशील बन्दै हिमालयन दरबारले बाढीपीडितको सहयोगका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार सफ्ट ओपनिङपछिको पहिलो एक साताको कुल बिक्री रकममध्ये १५ प्रतिशत रकम बाढीपीडितको राहत तथा सहयोगका लागि उपलब्ध गराइनेछ ।
आर्थिक चुनौतीका बाबजुद पनि व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई अगाडि बढाउने उद्देश्यले यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ ।
हिमालयन दरबारमा नेपाली मौलिक खानाका विभिन्न परिकारलाई प्राथमिकतामा राखिएको छ । यहाँ विशेषगरी दाङको परम्परागत शैलीमा तयार गरिने थकाली खाना, आगोमा पोलेको सेकुवा, लोकल कुखुराको मासु, बाचिपा तथा आगोमा पोलेको माछालगायतका परिकार उपलब्ध हुनेछन् । ग्राहकले नेवारी परिकारसँगै विभिन्न मल्टिकुजिन खानाका विकल्पसमेत रोज्न सक्ने कम्पनीले जनाएको छ ।
खानाका अतिरिक्त ग्राहकको फरक अनुभवलाई ध्यानमा राख्दै ‘कफी दरबार’ र आधुनिक शैलीमा सञ्चालन गरिएको ‘हिमालयन बार’ समेत सञ्चालनमा ल्याइएको छ । बारमा विभिन्न नयाँ तथा परिष्कृत ककटेलका विकल्प उपलब्ध गराइने बताइएको छ ।
हिमालयन दरबारले भाटभटेनी सुपरमार्केटसँग सहकार्य गर्दै भाटभटेनीमा किनमेल गर्ने ग्राहक तथा त्यहाँ कार्यरत कर्मचारीका लागि विशेष छुटको व्यवस्थासमेत गरेको जनाएको छ ।
कम्पनीका अध्यक्ष दुर्गा योञ्जनले नेपालमै सम्भावना हुँदाहुँदै पनि ठूलो संख्यामा युवा विदेशिने क्रम बढिरहेका बेला स्वदेशमै लगानी र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले हिमालयन दरबार सञ्चालनमा ल्याइएको बताए ।
उनले नयाँ व्यवसायमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै नेपाली खानाको मौलिक स्वाद र आतिथ्य संस्कृतिलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गरे ।
कम्पनीले आगामी दिनमा ग्राहकको रुचि, आवश्यकता र बदलिँदो बजारको मागअनुसार आफ्ना सेवा तथा सुविधालाई थप परिष्कृत गर्दै लैजाने जनाएको छ । आर्थिक चुनौतीका बीच युवाको लगानीमा सञ्चालनमा आएको हिमालयन दरबारले नेपाली आतिथ्य तथा रेस्टुरेन्ट व्यवसायमा नयाँ पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्