images
images
images

चेतनशील महिला बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

images

पूर्वाधार वाच, काठमाडौं।

चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति, वित्तीय अवस्था तथा आगामी वर्षको कार्ययोजनामाथि छलफल गरी विभिन्न प्रस्ताव पारित गरिएको छ ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष विदिता अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको संस्थाले जनाएको छ । त्यस्तै, लेखा परीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि समेत छलफल भएको थियो ।

सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिले तयार पारेका विभिन्न नीति तथा कार्यविधिलाई अनुमोदन गर्ने तथा संस्थाको पुरानो विनियम संशोधन र नयाँ विनियम निर्माणसम्बन्धी विषयमा समेत आवश्यक निर्णय गरेको छ ।

यस्तै, सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिका पदाधिकारीको भत्ता तथा प्रमुख कार्यकारी अधिकृतको तलब–भत्तासम्बन्धी विषयमा पनि छलफल गरिएको थियो । साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यहरूमध्येबाट प्रतिनिधि छनोट गर्ने विषय पनि सभाको कार्यसूचीमा समावेश गरिएको थियो ।

अध्यक्ष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बीच पनि सहकारीको मूल सिद्धान्त, पारदर्शिता, सुशासन, नैतिकता र जवाफदेहितालाई प्राथमिकतामा राखेर सदस्यकेन्द्रित सेवा प्रवाह गर्दै आएको उल्लेख गरिएको छ । संस्थामा महिला सदस्यको सहभागिता उल्लेख्य रहेको जनाइएको छ ।

संस्थाले बचत तथा ऋण कारोबारसँगै सदस्यहरूको आर्थिक तथा वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै आएको जनाएको छ । अध्यक्ष अधिकारीले हालको आर्थिक तथा व्यावसायिक चुनौतीका कारण सहकारी क्षेत्रसमेत प्रभावित भए पनि संस्थालाई सुरक्षित, सक्षम, सुशासित र पारदर्शी बनाउँदै अघि बढाइने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिवेदनमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक गतिविधिसमेत सञ्चालन गर्दै आएको उल्लेख छ । बाढीपीडितको सहयोगका लागि समेत संस्थाले आर्थिक सहयोग गरेको जनाएको छ ।

अध्यक्ष अधिकारीले संस्थाको विकासमा सहयोग पुर्‍याउने शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी, सल्लाहकार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सबैको साथ र सहयोगबाट संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएकी छन् ।

साधारण सभाले संस्थाको आर्थिक प्रतिवेदन, नीति तथा आगामी कार्यदिशामाथि छलफल गर्दै सदस्यको हित, संस्थागत सुशासन र दिगो विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभाबाट पार्वती पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा भावना गौतम ज्ञवाली, सचिवमा बिन्दु कुमारी शर्मा बसेल, कोषाध्यक्षमा विष्णु देवी शर्मा बराल तथा सदस्यहरूमा यशोदा ज्ञवाली, सिर्जना कँडेल र निर्मला पौडेल चयन भएका छन् । त्यसैगरी, विजया तिमिल्सिनाको संयोजकत्वमा राधिका पोखरेल र इन्दिरा ज्ञवाली सदस्य रहेको लेखा समिति पनि चयन गरिएको छ । नवनिर्वाचित समितिले संस्थागत सुशासन, वित्तीय अनुशासन, सदस्य हित तथा सहकारीको दिगो विकासलाई प्राथमिकतामा राख्दै आगामी कार्य अघि बढाउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्