images
images
images

आशुतोष इनर्जीको ९औँ साधारणसभा सम्पन्न, २८ करोड घाटाबीच १८.९४७ प्रतिशत नगद लाभांश पारित

images

पूर्वाधार वाच, काठमाडौं।

लमजुङमा ८.६३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको आशुतोष इनर्जी लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले शेयरधनीलाई १८.९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका अनुसार हाल कायम ४८ करोड रुपैयाँ चुक्ता पुँजीको १८.९४७ प्रतिशतका दरले ९ करोड ९ लाख ४७ हजार ४० रुपैयाँ नगद लाभांश वितरण गरिनेछ ।

प्रसारण लाइनको ढिलाइले चार वर्षमा २८ करोड घाटा

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण पछिल्ला चार आर्थिक वर्षमा आशुतोष इनर्जीले करिब २८ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५ करोड ९२ लाख रुपैयाँ, २०८०/८१ मा ८ करोड ६० लाख रुपैयाँ, २०८१/८२ मा ६ करोड २ लाख रुपैयाँ र २०८२/८३ मा ५ करोड ४७ लाख रुपैयाँ घाटा भएको थियो ।

हाल २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग गरिएको वैकल्पिक व्यवस्थालाई समेत खारेज गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै कम्पनीले अब आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिने अपेक्षा गरेको छ ।

१२ लाख कित्ता आईपीओ निष्कासनको तयारी

आशुतोष इनर्जीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीका अनुसार आईपीओ निष्कासनका लागि दुई वर्षअघि नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकिएको छ । बोर्डबाट स्वीकृति प्राप्त भएपछि शेयर निष्कासन प्रक्रिया अघि बढाइनेछ ।

२ मेगावाटको चेपे खोला क्यास्केड बनाउने योजना

कम्पनीले आगामी योजनाअन्तर्गत २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत् आयोजना निर्माण गर्ने तयारीसमेत गरेको छ । निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

२०७९ असोजदेखि व्यावसायिक उत्पादन

आशुतोष इनर्जीले लमजुङस्थित चेपे खोलाबाट २०७९ असोज १५ गतेदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्दै आएको छ । ८.६३ मेगावाट क्षमताको उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति हुँदै आएको कम्पनीले जनाएको छ ।

भोटेकोसी बाढीपीडितलाई १० लाख सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले हालै भोटेकोसी बाढीबाट प्रभावित परिवार तथा क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ ।

कम्पनीले प्रसारण लाइनको समस्या समाधान भएसँगै आयोजनाको उत्पादन क्षमता पूर्ण रूपमा उपयोग गर्ने, वित्तीय अवस्था सुधार गर्ने तथा नयाँ आयोजनामा लगानी विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्