पूर्वाधार वाच, काठमाडौं।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ ।
महासंघको जेठ ८ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले विधानको दफा ३७ बमोजिम लामिछानेलाई समितिको सभापतिमा मनोनयन गरेको हो ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघको छवि तथा प्रतिष्ठालाई थप सशक्त बनाउन नवीकरणीय एवं ऊर्जा समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
ऊर्जा तथा नवीकरणीय ऊर्जा नेपालको आर्थिक विकास र औद्योगिकीकरणका लागि महत्वपूर्ण क्षेत्र बन्दै गएको अवस्थामा लामिछानेले समितिको नेतृत्व सम्हालेका हुन् । उनले समितिमार्फत ऊर्जा तथा नवीकरणीय ऊर्जासम्बन्धी गतिविधि, नीति तथा कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन भूमिका खेल्ने अपेक्षा महासंघले गरेको छ ।
महासंघका अनुसार समितिबाट भएका गतिविधि तथा कार्यभारको त्रैमासिक रूपमा पुनरावलोकन तथा मूल्यांकन गरिनेछ ।
लामिछाने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योग सञ्चालन गरिरहेको बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन् । ऊर्जा तथा औद्योगिक क्षेत्रमा लामो समयदेखि सक्रिय लामिछानेको अनुभवबाट समितिको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्