images
images
images

काबेली हाइड्रोपावरको पाँचौं साधारणसभा सम्पन्न, १६.३२ प्रतिशत नगद लाभांश पारित

images

पूर्वाधार वाच, काठमाडौं।

काबेली हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा बिहान १० बजे सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई करसहित १६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।

ऋण तथा ओभरड्राफ्ट नवीकरण स्वीकृत

साधारणसभाले एनएमबि बैंक लिमिटेडबाट लिइएको ऋण तथा ओभरड्राफ्ट खाता नवीकरण गर्ने सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णयलाई अनुमोदन गरेको छ । साथै, सञ्चालक समितिको बैठक भत्ता पुनरावलोकन तथा समायोजन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई समेत सभाले स्वीकृति दिएको छ ।

अन्य जलविद्युत् आयोजनामा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी

कम्पनीले अन्य जलविद्युत् आयोजना तथा जलविद्युत् कम्पनीहरूमा शेयर लगानी गर्न सक्ने गरी सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ । उक्त निर्णयले कम्पनीको आगामी लगानी तथा व्यवसाय विस्तारको दायरा फराकिलो बनाउने अपेक्षा गरिएको छ ।

विपद्पीडितलाई राहतमा सहयोग

सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले प्राकृतिक विपत्तिका कारण भएको जनधन तथा जलविद्युत् आयोजनाको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे ।

उनले बाढी तथा हिमपहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्निर्माणमा जोड दिनुपर्ने बताए । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको जानकारी पनि सभामा गराइएको थियो ।

जलविद्युत्मा दीर्घकालीन लगानीको सम्भावना बलियो

अध्यक्षले जलविद्युत् क्षेत्रलाई नेपालको आर्थिक विकास र दीर्घकालीन लगानीका लागि महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताए । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) ले आयोजनाको दीर्घकालीन आम्दानीका लागि आधार तयार गरेको उनको भनाइ थियो ।

आयोजना निर्माण सम्पन्न भएपछि सञ्चालन खर्च तुलनात्मक रूपमा व्यवस्थापनयोग्य हुने र लामो समयसम्म विद्युत् उत्पादनमार्फत प्रतिफल प्राप्त गर्न सकिने भएकाले जलविद्युत्मा लगानीको सम्भावना बलियो रहेको उनले बताए ।

कम्पनीको लगानीलाई व्यावसायिक प्रतिफलमा मात्र सीमित नराखी नेपालको ऊर्जा विकास, भावी पुस्ताको उज्यालो भविष्य र राष्ट्रिय समृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए ।

सभामा सहभागी शेयरधनीहरूले कम्पनीको प्रगति, आगामी रणनीति तथा प्राकृतिक विपत्तिका समयमा कम्पनीले निर्वाह गरेको सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्