पूर्वाधार वाच, काठमाडौं।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले आफ्नो १२औँ वार्षिक साधारणसभा तथा ६औँ महाधिवेशन सम्पन्न गरेको छ। शनिबार सुन्धारास्थित घुइचो क्याफेमा सम्पन्न कार्यक्रमले संघका वार्षिक गतिविधि, आर्थिक अवस्था तथा भावी कार्यदिशाबारे विस्तृत छलफल गरेको हो।
कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साधारणसभाले संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायत विभिन्न प्रस्तावहरू पारित गरेको छ भने महाधिवेशनले संघको संगठनात्मक सुदृढीकरण र व्यवसायिक हित संरक्षणका विषयमा साझा धारणा बनाएको छ।
कार्यक्रममा स्वदेशी उत्पादनको प्रवर्द्धन, नेपाली जुत्ता–चप्पल उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा रोजगारी सिर्जनामा उद्योग क्षेत्रको भूमिकाबारे पनि छलफल गरिएको थियो। सहभागी वक्ताहरूले नेपाली उत्पादनको प्रयोग बढाउन नीतिगत सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।
संघले आगामी दिनमा सदस्य व्यवसायीहरूका समस्या समाधान, सीप विकास, बजार विस्तार तथा नीतिगत पहललाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

नयाँ कार्यसमिति चयन
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आज सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचनबाट रामप्रसाद न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन्।

त्यसैगरी उपाध्यक्ष पदमा शैलेन्द्र केसी, कृष्ण पौडेल, सुरेन्द्र रम्जी र हिमलाल पौडेल निर्वाचित भएका छन्। महासचिवमा विश्वजित राई चयन भएका छन् भने सचिव पदमा रमा गोपाली अच्छामी, रेगबहादुर कार्की, पवन कटुवाल र विश्वबहादुर तामाङ निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा राजन भट्टराई चयन भएका छन् भने सह–कोषाध्यक्षमा केशव अच्छामी निर्वाचित भएका छन्।
सदस्यहरूमा अर्जुन पौडेल, दीपक थापा, नवीन अधिकारी, तारादेवी तामाङ, दुर्गादत्त भट्ट, गोवर्धन श्रेष्ठ र रमिला केसी चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले संघको उद्देश्यअनुसार संस्थागत सुदृढीकरण, सदस्यहरूको हकहित संरक्षण तथा भावी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्