images
images
images

आम निर्वाचन लक्षित वन–वातावरण नीति संवाद सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल वन अधिकृत संघ (Nepal Foresters’ Association) को आयोजनामा वन तथा वातावरणसँग सम्बन्धित नीतिगत विषयमा केन्द्रित नीति संवाद कार्यक्रम आज काठमाडौंको बबरमहलस्थित संघको सभाहलमा सम्पन्न भएको छ।

वन तथा वातावरण नीति सरोकार समुदायले राजनीतिक दलहरूलाई लक्षित गर्दै ‘हरित विकास मार्गचित्र–२०८२’ सार्वजनिक गरेको छ। आगामी निर्वाचनका सन्दर्भमा जारी गरिएको उक्त मार्गचित्रमार्फत सबै राजनीतिक दलहरूले आफ्ना चुनावी घोषणापत्रमा वन, वातावरण र हरित विकासलाई प्राथमिक राजनीतिक एजेन्डाका रूपमा समेट्न अपिल गरिएको छ।

मार्गचित्रमा नेपालको करिब ४६.०८ प्रतिशत भू–भाग ओगटेको वन क्षेत्रले जल, जमिन, जलवायु, जैविक विविधता र जनजीविकाको सुरक्षामा खेलेको भूमिकालाई स्मरण गराउँदै अव्यवस्थित पूर्वाधार, कमजोर नियमन र जलवायु परिवर्तनका कारण बढ्दो पहिरो, बाढी, डढेलो र वातावरणीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

आगामी आम निर्वाचनलाई ध्यानमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रममार्फत राजनीतिक दल तथा भावी जनप्रतिनिधिहरूले आफ्ना निर्वाचन घोषणापत्रमा समावेश गर्न सक्ने सुदृढ र व्यवहारिक नीति सुझाव तयार गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

माघ १५, २०८२ (बिहीबार) दिउँसो २ बजेदेखि सुरु भएको संवाद कार्यक्रममा वन क्षेत्रका विज्ञ, पेशागत अगुवा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको वन तथा वातावरणीय शासन प्रणालीअन्तर्गतका नीतिगत प्राथमिकता, विद्यमान चुनौती र आगामी सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।

छलफलका क्रममा राजनीतिक प्रतिबद्धता, प्राविधिक दक्षता, क्षेत्रीय यथार्थ र दीर्घकालीन दिगोपनाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइयो। सहभागी वक्ताहरूले नीतिगत निर्णयलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न वन विज्ञ तथा प्राविधिकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

त्यसैगरी, वन तथा वातावरणसम्बन्धी नीतिहरू तथ्यमा आधारित, समावेशी तथा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र समुदायको जीविकोपार्जनप्रति उत्तरदायी हुनुपर्नेमा सहभागीहरूको साझा धारणा रहेको थियो।

कार्यक्रमले निर्वाचनको सन्दर्भमा वन तथा वातावरणीय विषयलाई राष्ट्रिय राजनीतिक एजेन्डामा प्राथमिकताका साथ समेट्न आवश्यक छलफल र विचार आदान–प्रदानको महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्