images
images
images

आईपीओ निष्कासन गर्ने सुमेरु पोलिमर्सको विशेष प्रस्ताव पारित, पहिलो वार्षिक साधारण सभा सिद्धार्थ कटेजमा सम्पन्न

images

पूर्वाधार वाच, ललितपुर ।

निर्माण रसायन तथा पाइप उत्पादन क्षेत्रमा सक्रिय सुमेरु पोलिमर्स लिमिटेडको पहिलो वार्षिक साधारण सभा आज ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण, पूँजी विस्तार र आईपीओ निष्कासनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षित वित्तीय विवरण तथा संस्थागत सुधारका विषयमा छलफल गर्दै भावी रणनीतिसम्बन्धी निर्णयहरू अनुमोदन गरिएको कम्पनीले जनाएको छ ।

लाभांश वितरण र पूँजी विस्तार

साधारण सभाले आव २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बोनस सेयरको कर प्रयोजनका लागि ०.४३७७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि स्वीकृत भएको छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी वृद्धि हुने छ । सोही वृद्धि भएको पूँजीको आधारमा १०:४ को अनुपातमा हकप्रद सेयर (राइट सेयर) निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । यस निर्णयले हालका सेयरधनीलाई थप लगानी गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

सर्वसाधारणका लागि आईपीओ जारी गर्ने निर्णय

कम्पनीले व्यावसायिक सञ्जाल विस्तार तथा वित्तीय आधार सुदृढ गर्न कुल जारी पूँजीको ४० प्रतिशत बराबरको साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय गरेको छ । यससँगै कम्पनी अब नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवश्यक प्रक्रिया पूरा गरी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को चरणमा प्रवेश गर्नेछ ।

उद्योग क्षेत्रका जानकारहरूका अनुसार पहिलो साधारण सभाबाट पारित यी निर्णयहरूले कम्पनीलाई सार्वजनिक सहभागितातर्फ अग्रसर गराउँदै पूँजी बजारमा प्रवेशको बाटो खोलेको छ ।

सुशासन र संरचनागत सुदृढीकरण

सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ । साथै, सञ्चालक समिति पुनर्गठन, स्वतन्त्र सञ्चालक नियुक्ति तथा बोर्ड सदस्य निर्वाचनसम्बन्धी प्रस्तावहरू पनि अनुमोदन भएका छन् ।

यसका साथै अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही अनुरूप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय पनि पारित गरिएको छ । कम्पनीले यी निर्णयहरूलाई संस्थागत पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन विस्तार रणनीतिका लागि महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

स्वदेशी उत्पादन प्रवर्द्धनमा जोड

सभालाई सम्बोधन गर्दै व्यवस्थापन पक्षले निर्माण सामग्रीको आयात प्रतिस्थापन गर्दै गुणस्तरीय स्वदेशी उत्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याएको छ । सुमेरु पाइप्स एन्ड फिटिङ्स ब्रान्डअन्तर्गत कम्पनीले उत्पादन गर्दै आएका PVC, HDPE र CPVC पाइप तथा फिटिङ्स, टायल एडहेसिभ र वाल पुट्टीको बजार माग उच्च रहेको जनाइएको छ ।

पूँजी विस्तारसँगै उत्पादन क्षमता वृद्धि गरी देशभर पूर्वाधार तथा निर्माण क्षेत्रमा थप योगदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । पहिलो वार्षिक साधारण सभाबाट पारित निर्णयहरूलाई कम्पनीको विस्तार यात्रामा महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्