images
images
images

दुबई–अबुधाबीबाट उडान उपलब्ध तर अचानक रद्द हुन सक्ने चेतावनी

images

काठमाडौं । मध्यपूर्वमा बढ्दो सुरक्षा तनावका बीच अमेरिकी सरकारले क्षेत्रमै रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । सोमबार जारी अद्यावधिक यात्रा परामर्शमा अमेरिकाले संयुक्त अरब इमिरेट्स ९यूएई० मा रहेका नागरिकलाई व्यावसायिक उडानहरू अझै उपलब्ध रहेको तर अचानक उडान रद्द हुन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

अमेरिकी विदेश विभागले जारी गरेको परामर्श अनुसार अहिले अबुधाबी र दुबईबाट अमेरिका तथा युरोपका विभिन्न शहरतर्फ जाने व्यावसायिक उडानहरू उपलब्ध छन् । तर क्षेत्रको सुरक्षा अवस्थाका कारण उडान तालिका छोटो सूचनामै परिवर्तन हुन सक्ने वा रद्द हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

परामर्शमा यूएईको साउदी अरब र ओमानसँगको स्थल सीमाना खुला रहेको र ती देशबाट पनि व्यावसायिक उडानहरू सञ्चालनमा रहेको जानकारी दिइएको छ । अमेरिकी विदेश विभागले पश्चिम एशियाको सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाउँदै अमेरिकी नागरिकको सुरक्षा नै सरकारको सबैभन्दा उच्च प्राथमिकता भएको जनाएको छ ।

यसैबीच रियादस्थित अमेरिकी दूतावासले साउदी अरबमा रहेका आफ्ना नागरिकलाई सम्भव भएसम्म व्यावसायिक उडानमार्फत देश छाड्न सुझाव दिएको छ । दूतावासका अनुसार साउदी अरबको हवाई क्षेत्र खुला भए पनि मिसाइल र ड्रोन आक्रमणको सम्भावित जोखिमका कारण हवाई यातायातमा बेला–बेला प्रतिबन्ध लाग्ने गरेको छ ।

रियाद, जेद्दा र दमामका विमानस्थलहरू भने सञ्चालनमा रहेको जनाइएको छ । तर उडान ढिलाइ वा रद्द हुन सक्ने भएकाले यात्रुहरूलाई एयरलाइन्ससँग सिधै उडानको अवस्था बुझ्न आग्रह गरिएको छ । दूतावासले साउदी अरबमा रहेका अमेरिकी सरकारी कर्मचारीलाई घरभित्रै सुरक्षित स्थानमा बस्न निर्देशन दिँदै सकेसम्म झ्यालबाट टाढा रहन पनि आग्रह गरेको छ ।

यसअघि मार्च ८ मा अमेरिकी विदेश विभागले निरन्तर भइरहेका मिसाइल र ड्रोन खतराका कारण साउदी अरबबाट गैर–आवश्यक अमेरिकी सरकारी कर्मचारीलाई फिर्ता बोलाउने आदेश दिएको थियो । सोमबार बिहान दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोनसँग सम्बन्धित घटनापछि केही समयका लागि उडान स्थगित गरिएको थियो । अधिकारीहरूका अनुसार उक्त घटनापछि लागेको आगो नियन्त्रणमा लिइएको छ र विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

अमेरिका, इजरायल र इरानसँग सम्बन्धित जारी द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रभर सुरक्षा तनाव बढ्दै गएको छ, जसले हवाई यातायात र नागरिक सुरक्षामा समेत असर पारिरहेको छ । एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्