पूर्वाधार वाच,ललितपुर ।
यूडब्लुएस (UWS) नेपालले तीन वर्षे ‘यूके एड म्याच राउण्ड–५ (UKAM R5)’ परियोजना सफलतापूर्वक सम्पन्न गरेको छ । परियोजनाको समापन अवसरमा ललितपुरस्थित होटल हिमालयमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरिएको थियो, जहाँ सरकारी अधिकारी, स्थानीय प्रतिनिधि, शिक्षक, समुदायका सदस्य तथा विकास साझेदारहरूको सहभागिता रहेको थियो ।
दुर्गम क्षेत्रमा बालिका शिक्षामा पहुँच विस्तार
अप्रिल २०२३ देखि मार्च २०२६ सम्म सञ्चालन भएको उक्त परियोजना बेलायत सरकारको फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (FCDO) को सहयोगमा सञ्चालन गरिएको हो । नेपाल र कम्बोडियाका दुर्गम तथा सीमान्तकृत समुदायमा बालिकाहरूको गुणस्तरीय र समावेशी शिक्षामा पहुँच वृद्धि गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको थियो ।
नेपालमा मात्रै यो परियोजनाबाट संखुवासभा, भोजपुर, ताप्लेजुङ, गुल्मी र तनहुँ जिल्लाका ७१ विद्यालयमा अध्ययनरत ४ हजार ९०९ बालिकाहरू प्रत्यक्ष लाभान्वित भएका छन् । भौगोलिक दुर्गमता, आर्थिक अवस्था र लैङ्गिक असमानताका कारण शिक्षाबाट वञ्चित हुँदै आएका समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।
समग्र शिक्षा प्रणाली सुदृढीकरणमा जोड
परियोजनाले पूर्वाधार विकासमा मात्र सीमित नभई समग्र शिक्षा प्रणाली सुदृढीकरणमा ध्यान दिएको थियो । यसअन्तर्गत बालिका शिक्षाको निरन्तरता, लैङ्गिक संवेदनशील शिक्षक तालिम, समावेशी पानी, सरसफाइ तथा स्वच्छता (WASH) सुविधा, समुदायको स्वामित्व अभिवृद्धि र स्थानीय सरकारसँग सहकार्यलाई प्राथमिकता दिइएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा यूडब्लुएस नेपालका कन्ट्री डाइरेक्टर अविनाश झाले उपलब्धिसँगै अझै बाँकी चुनौतीहरूबारे प्रकाश पार्दै ग्रामीण क्षेत्रमा बालिकाहरूले शिक्षा हासिल गर्न अझै पनि विभिन्न अवरोधहरू सामना गरिरहेको उल्लेख गरे । उनले दीर्घकालीन प्रभाव सुनिश्चित गर्न समावेशी शिक्षा प्रणालीलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए ।
नीतिगत सुधारमा जोड
समापन कार्यक्रममा समावेशी शिक्षा सुधारसम्बन्धी छलफलमा नीतिगत व्यवस्था भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गरिएको थियो । विशेषगरी दुर्गम क्षेत्रमा स्रोत अभाव, स्थानीय तहको क्षमता सीमितता र समुदायमा पर्याप्त जनचेतनाको कमी प्रमुख चुनौतीका रूपमा औंल्याइएको थियो ।
छलफलका क्रममा लक्षित सहयोग, तथ्यांकमा आधारित निर्णय, स्थानीय सन्दर्भअनुसार लचिलो कार्यक्रम तथा बहुपक्षीय सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।
भावी रणनीति र सिफारिस
कार्यक्रममा समावेशी शिक्षा विस्तारलाई दिगो बनाउन विभिन्न सिफारिसहरू प्रस्तुत गरिएका थिए । स्थानीय सरकारको स्वामित्व वृद्धि, लैङ्गिक संवेदनशील शिक्षक तालिम संस्थागत गर्ने, विद्यालयमा समावेशी WASH पूर्वाधार विस्तार गर्ने, समुदायको जवाफदेहिता बढाउने तथा साझेदारीमार्फत स्रोत परिचालन गर्ने विषयमा जोड दिइएको थियो ।
‘एजुकेशन प्लस’ पहल सार्वजनिक
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा ‘एजुकेशन प्लस’ पहलको घोषणा गरिएको छ । ‘जिरो एजुकेशन पोभर्टी (ZEP)’ अवधारणामा आधारित यस पहलले विगतका अनुभवलाई आत्मसात गर्दै सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिने दीर्घकालीन रणनीति अघि सारेको छ ।
क्षेत्रीय सहकार्यमा जोड
परियोजनाको समापनसँगै कम्बोडियामा पनि समान कार्यक्रम आयोजना गरिएको थियो, जसले दुवै देशमा बालिका शिक्षाको प्रवर्द्धनमा साझा प्रतिबद्धता झल्काएको छ ।
यूडब्लुएस नेपालको परिचय
सन् २०१५ मा स्थापना भएको यूडब्लुएस नेपालले दुर्गम तथा जलवायु जोखिमयुक्त क्षेत्रमा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न कार्य गर्दै आएको छ । स्थानीय सरकार र समुदायसँग सहकार्य गर्दै शिक्षा प्रणाली सुदृढीकरण, शिक्षक तालिम तथा दिगो सिकाइ वातावरण निर्माणमा संस्था सक्रिय रहेको छ ।
समापन कार्यक्रमले समावेशी शिक्षा प्रवर्द्धनमा हासिल उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी र दीर्घकालीन हस्तक्षेप आवश्यक रहेको प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्