पूर्वाधार वाच, काठमाडौं।
दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाका लागि कन्सोर्टियम ऋण सम्झौता सम्पन्न गरेको छ । काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजित कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड को नेतृत्वमा रहेका बैंकहरूसँग आयोजना वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो ।
तनहुँमा निर्माण हुँदै ५० मेगावाटको आयोजना
कम्पनीका अनुसार आयोजना गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लामा बग्ने मर्स्याङ्दी नदीमा निर्माण गरिनेछ । आयोजनाको संरचना बन्दीपुर नगरपालिका तथा म्याग्दे गाउँपालिकाका विभिन्न क्षेत्रमा फैलिने जनाइएको छ ।
वित्तीय सम्झौतासम्बन्धी दस्तावेजमा कम्पनी तथा सहभागी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।
११ अर्बभन्दा बढी लगानी अनुमान
आयोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसमध्ये ७ अर्ब ५० करोड रुपैयाँ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेतृत्वमा रहेको बैंकहरूको सह–वित्तीयकरण (कन्सोर्टियम फाइनान्सिङ) मार्फत जुटाइनेछ ।
त्यस्तै, बाँकी ३ अर्ब ८० करोड रुपैयाँ कम्पनीको स्वपुँजी लगानीबाट व्यवस्थापन गरिनेछ ।
३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
कम्पनीले आयोजनाको आधिकारिक निर्माण अवधि चार वर्ष तोकिएको भए पनि आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढाइएको जनाएको छ ।
आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभी उदिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उक्त सबस्टेसन आयोजनास्थलको पावरहाउसबाट करिब आठ किलोमिटर दूरीमा रहेको बताइएको छ ।
पीपीए र उत्पादन अनुमति यसअघि नै प्राप्त
दिव्यज्योति हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणसँग २०७४ सालमै विद्युत् खरिद–बिक्री सम्झौता (PPA) सम्पन्न गरिसकेको जनाएको छ । साथै, ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागबाट २०७५ सालमा विद्युत् उत्पादन अनुमति पत्र प्राप्त भएको कम्पनीले उल्लेख गरेको छ ।
ऊर्जा सुरक्षामा योगदान पुग्ने अपेक्षा
आयोजना सम्पन्न भएपछि नेपालको नवीकरणीय ऊर्जा उत्पादन क्षमता वृद्धि हुनुका साथै ऊर्जा सुरक्षा, आन्तरिक विद्युत् उत्पादन तथा दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । कम्पनीले परियोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना तथा पूर्वाधार विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)









प्रतिक्रिया दिनुहोस्