images
images
images

सगरमाथा संरक्षण र दिगो पर्वतारोहणको प्रतिबद्धतासहित ‘एभरेस्ट समिटियर्स समिट २०२६’ सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

सगरमाथा आरोहणको ७३औँ वार्षिकोत्सवको अवसरमा नेपालमा आयोजित ‘एभरेस्ट समिटियर्स समिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । विश्वका २६ देशका १७६ भन्दा बढी सफल एभरेस्ट आरोहीहरूको सहभागिता रहेको सम्मेलनले हिमालय संरक्षण, दिगो पर्वतारोहण तथा जलवायु परिवर्तनविरुद्ध साझा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

समिटमा सहभागी आरोहीहरूले दिगो र नैतिक पर्वतारोहण अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । उनीहरूले हिमनदी, पर्वतीय पर्यावरण तथा स्थानीय समुदायमा जलवायु परिवर्तनले पारेको प्रभावबारे विश्वव्यापी जनचेतना फैलाउने अठोट व्यक्त गरेका हुन् । साथै, नेपालसहित आफ्ना-आफ्ना देशहरूमा वातावरणमैत्री र जिम्मेवार पर्वतारोहण संस्कृतिको विकास गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

गत मे २७ मा सम्पन्न समिटमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशी तथा विदेशी आरोहीहरूसँग प्रत्यक्ष संवाद गर्दै सगरमाथा संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका थिए । उनले विश्व तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र जैविक विविधतामा आएको ह्रासले हिमालय क्षेत्रमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै समाधानका लागि विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्र नभई सम्पूर्ण विश्वको साझा प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै नेपालको पर्यटन र अर्थतन्त्रमा यसको महत्वपूर्ण योगदान रहेको बताए । उनले हिमाली क्षेत्रमा बढ्दो फोहोर, पर्यावरणीय असन्तुलन तथा जलवायु संकट प्रमुख चुनौतीका रूपमा देखा परेको धारणा व्यक्त गरे ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले सुरक्षित, व्यवस्थित र दिगो पर्वतीय पर्यटन विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले आरोहीहरूको सुरक्षा, उद्धार प्रणालीको सुदृढीकरण, हिमाली समुदायको आर्थिक सशक्तीकरण तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाइने जानकारी दिए ।

मन्त्री पौडेलले हिमालय संरक्षण नेपालमात्रको विषय नभई विश्वकै साझा जिम्मेवारी भएको उल्लेख गर्दै पर्वतारोहणलाई अनुशासित, सुरक्षित र वातावरणमैत्री बनाउन आवश्यक पहल गरिने बताए ।

कामी रिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

सम्मेलनका क्रममा विभिन्न देशका सफल एभरेस्ट आरोहीहरूलाई विशेष सम्मान तथा पदक प्रदान गरिएको थियो । यस अवसरमा विश्व कीर्तिमानी आरोही कामी रिता शेर्पालाई हिमाली पर्यटन र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । उनले हालै ३२औँ पटक सगरमाथा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

तीन विशेष प्यानल छलफलमा जलवायु र पर्वतारोहणका चुनौतीमाथि बहस

समिटअन्तर्गत तीनवटा विशेष प्यानल छलफलसमेत आयोजना गरिएको थियो । ‘महिला पर्वतारोहणः सुरक्षा, सम्मान र समान अवसर’ विषयक छलफलमा महिला आरोहीहरूको बढ्दो सहभागिता, उच्च हिमाली क्षेत्रमा उनीहरूको क्षमता तथा व्यक्तिगत जिम्मेवारीबारे चर्चा गरिएको थियो ।

त्यसैगरी ‘समिट पर्स्पेक्टिभ्सः जोखिम, सहनशीलता र उपलब्धि’ शीर्षकको छलफलमा एभरेस्ट क्षेत्रमा बढ्दो भीड, अनुभवहीन आरोहीहरूको संख्या, उद्धार व्यवस्थापन तथा फोहोर नियन्त्रणका विषयमा चिन्ता व्यक्त गरिएको थियो ।

‘माउन्टेन इकोसिस्टमका लागि जलवायु वित्त विस्तार’ विषयक तेस्रो छलफलमा हिमाली समुदाय, वातावरण तथा तल्लो तटीय क्षेत्रको दिगो भविष्य सुनिश्चित गर्न जलवायु वित्तलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

‘एभरेस्ट समिटियर्स समिट अवार्ड २०२७’ स्थापना गर्ने सहमति

कार्यक्रमकै क्रममा एभरेस्ट एलायन्स नेपाल र चीनस्थित गोनेचर आउटडोर स्पोर्ट्स ग्रुप कम्पनीबीच ‘एभरेस्ट समिटियर्स समिट अवार्ड २०२७’ स्थापना गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

उक्त अवार्डमार्फत पर्वतारोहण तथा सामुदायिक विकासमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ३० हजार अमेरिकी डलर राशिको पुरस्कार प्रदान गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्