images
images
images

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशन काठमाडौंमा सुरु

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशन आज काठमाडौंमा सुरु भएको छ । व्यवसायीहरूको उल्लेखनीय सहभागिताबीच आयोजित कार्यक्रम राजधानीस्थित नवदुर्गा पार्टी भेन्युमा जारी रहेको छ ।

महासंघका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा देशभरका फर्निचर तथा फर्निसिङ व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार वृद्धि हुनु सकारात्मक पक्ष भएको बताए । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढे मात्र अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उल्लेख गर्दै वर्तमान आर्थिक चुनौतीका बीच सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

अग्रवालले फर्निचर उद्योगलाई नेपालको महत्वपूर्ण उत्पादनमूलक क्षेत्रका रूपमा व्याख्या गर्दै यस क्षेत्रको बजार र माग आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गरे । स्वदेशमै रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनमा फर्निचर उद्योगले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनको भनाइ थियो ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष नरेश लाल श्रेष्ठले बजेटले निजी क्षेत्रलाई केही हदसम्म उत्साहित बनाएको बताए । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै नेपाली उद्योगको संरक्षण र प्रवर्द्धनका लागि सरकारी नीतिहरू थप प्रभावकारी हुनुपर्ने धारणा राखे ।

श्रेष्ठले विदेशी वस्तुको बढ्दो प्रतिस्पर्धाबीच स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनले राष्ट्रिय अर्थतन्त्रलाई थप मजबुत बनाउने बताए । कार्यक्रममा सहभागी अन्य अतिथि तथा विशेष अतिथिहरूले पनि फर्निचर उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे आ-आफ्ना धारणा राखेका थिए ।

वक्ताहरूले उद्योगमैत्री नीति, सहज वित्तीय पहुँच, कच्चा पदार्थको व्यवस्थापन तथा स्वदेशी उत्पादनको प्रभावकारी बजारीकरणमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका क्रममा महासंघका विभिन्न पदाधिकारी, व्यवसायी तथा फर्निचर तथा फर्निसिङ क्षेत्रको विकासमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित व्यक्तिहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले उद्योग विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रमको समापन महासंघका वरिष्ठ उपाध्यक्ष ओम बहादुर बस्नेतले धन्यवाद ज्ञापन गर्दै गरेका थिए । महाधिवेशनले संगठन सुदृढीकरण, व्यवसायिक एकता तथा फर्निचर तथा फर्निसिङ क्षेत्रको समग्र विकासका लागि आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ । कार्यक्रमको सञ्चालन महासंघका महासचिव छबिलाल गैरेले गरेका थिए ।

“व्यवसायिक एकता, व्यवसायिक सफलता” भन्ने मूल नारासहित आयोजित महाधिवेशनमा देशभरका फर्निचर तथा फर्निसिङ व्यवसायी, उद्योगी तथा सरोकारवालाहरूको उपस्थिति रहेको छ । कार्यक्रममा महासंघको वार्षिक प्रगति विवरण, भावी कार्ययोजना तथा व्यवसायिक क्षेत्रका चुनौती र सम्भावनाबारे छलफल भइरहेको आयोजकले जनाएको छ ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका साथै व्यवसायीहरूको हकहित, बजार व्यवस्थापन, स्वदेशी उत्पादन प्रवर्द्धन तथा व्यवसायिक एकता सुदृढ गर्ने विषयमा विशेष जोड दिइने बताइएको छ ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले नेपाली फर्निचर उद्योगलाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन राज्यबाट आवश्यक नीति, सहुलियत तथा संरक्षणको आवश्यकता औँल्याएका छन् । साथै, स्वदेशी उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनामा फर्निचर क्षेत्रको महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरिएको छ ।

महासंघका पदाधिकारीहरूले महाधिवेशनले व्यवसायीहरूबीच आपसी सहकार्य र संगठनात्मक एकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्