पूर्वाधार वाच, काठमाडौं।
नर्थ समिट हाइड्रो लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको वित्तीय, प्राविधिक तथा रणनीतिक गतिविधिहरूबारे समीक्षा गर्दै जलविद्युत् क्षेत्रमा भइरहेका लगानी तथा पूर्वाधार विकाससम्बन्धी विभिन्न विषयमा छलफल गरेको छ ।
कम्पनीका अध्यक्ष विवेक टाटेरको सभापतित्वमा सम्पन्न सभामा प्रबन्ध निर्देशक बलिन्द्र क्षेत्रीले लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी–फिदी जलविद्युत् आयोजनाको निर्माण प्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण, लेखापरीक्षक नियुक्ति, सेयर संरचनासम्बन्धी परिवर्तन, लगानीसम्बन्धी निर्णय, बैंक तथा वित्तीय संस्थासँग भएका सम्झौतामा संशोधन तथा सेयरधनी अभिलेख अद्यावधिकलगायत विभिन्न प्रस्तावहरू पारित गरेको जनाएको छ । साथै, कम्पनीले ४ मेगावाट क्षमताको मिडिल न्यादी जलविद्युत् आयोजनामा सेयर खरिद गर्ने योजना तथा न्यादी–फिदी आयोजना क्यास्केड विकाससम्बन्धी विषयमा पनि छलफल गरेको थियो ।
कम्पनीका अनुसार गण्डकी प्रदेशको लमजुङमा निर्माणाधीन न्यादी–फिदी जलविद्युत् आयोजना २१.४ मेगावाट क्षमताको रन–अफ–रिभर प्रकृतिको आयोजना हो । आयोजनाले विद्युत् उत्पादन अनुमति, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) तथा ग्रिड जडानलगायतका आवश्यक स्वीकृतिहरू प्राप्त गरिसकेको छ ।
हाल आयोजनाअन्तर्गत इन्टेक संरचना, डिस्यान्डर निर्माण, हेडरेस टनेल खन्ने कार्य, पेनस्टक जडान तथा हाइड्रोमेकानिकल पूर्वाधार निर्माणका काम तीव्र रूपमा अघि बढिरहेको कम्पनीले जनाएको छ ।
नर्थ समिट हाइड्रोले नेपालको बढ्दो नवीकरणीय ऊर्जा क्षमतामा योगदान पुर्याउने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा क्षेत्रीय पूर्वाधार विकासलाई सहयोग पुर्याउने उद्देश्यका साथ आयोजना अघि बढाइएको जनाएको छ । कम्पनीका अनुसार रन–अफ–रिभर डिजाइनमा आधारित आयोजनाबाट वार्षिक करिब १२९.१४ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ, जसले जलाशययुक्त आयोजनाको तुलनामा वातावरणीय प्रभाव कम गर्ने अपेक्षा गरिएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक बलिन्द्र क्षेत्रीले आयोजनाको निर्माण कार्य योजनाअनुसार अघि बढिरहेको उल्लेख गर्दै गुणस्तर र वातावरणीय जिम्मेवारीलाई प्राथमिकतामा राखेर आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभामा आगामी लगानी योजना, सुशासनका विषय तथा नेपालको जलविद्युत् र स्वच्छ ऊर्जा क्षेत्रलाई थप सुदृढ बनाउने रणनीतिबारे पनि छलफल भएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्