पूर्वाधार वाच, काठमाडौं ।
नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण आयोजना गर्ने भएको छ ।
ट्रान्सवेल्ड ट्रान्सफर्मरको टाइटल प्रायोजनमा सञ्चालन हुने उक्त प्रदर्शनी आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार नेपालकै सबैभन्दा ठूलो विद्युतीय तथा ऊर्जा प्रविधि प्रदर्शनीका रूपमा परिचित यस कार्यक्रमले नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरूलाई एउटै छानामुनि प्रस्तुत गर्नेछ ।
महासंघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक दिलीप कुमार अग्रवालले प्रदर्शनीले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नयाँ उपलब्धिहरूलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे । उनले उद्योगी, व्यवसायी, इन्जिनियर, प्राविधिक, शैक्षिक संस्था तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यवसायिक अवसर आदान–प्रदान गर्ने प्रभावकारी मञ्चका रूपमा प्रदर्शनी स्थापित हुने बताए ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा तथा विद्युतीय क्षेत्रलाई प्राथमिकतामा राखेको अवस्थामा यस प्रदर्शनीले विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण पूर्वाधार विस्तार, विद्युतीय सवारीसाधनको प्रवर्द्धन तथा ऊर्जा आत्मनिर्भरताको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको सहभागिता रहनेछ । ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, बजाज, सिमेन्स, उषा, एङ्कर, ओरिएन्ट इलेक्ट्रिक, चिन्ट तथा सी एण्ड एस इलेक्ट्रिकलगायत ब्रान्डहरूले आफ्ना नवीनतम उत्पादन तथा समाधानहरू प्रदर्शन गर्नेछन् ।
प्रदर्शनीमा ट्रान्सफर्मर, स्विचगियर, केवल तथा तार, ऊर्जा व्यवस्थापन प्रणाली, स्मार्ट होम तथा स्मार्ट बिल्डिङ समाधान, औद्योगिक स्वचालन, एलईडी प्रविधि, विद्युतीय सुरक्षा प्रणाली, सौर्य तथा नवीकरणीय ऊर्जा, ई–मोबिलिटी, चार्जिङ पूर्वाधार, सूचना प्रविधि तथा परीक्षण उपकरणहरू प्रदर्शन गरिने जनाइएको छ ।
आयोजकका अनुसार यस वर्ष प्रदर्शनीका सबै स्टल समयअघि नै बुकिङ भइसकेका छन् । प्रदर्शनी अवधिभर बी–टु–बी मिटिङ, उत्पादन प्रदर्शन, प्रविधि प्रस्तुतीकरण, अन्तरक्रिया कार्यक्रम तथा ज्ञानमूलक सत्रहरू सञ्चालन गरिनेछन् । यसबाट उद्योगी, व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा अनुसन्धानकर्ताले प्रत्यक्ष लाभ लिन सक्ने आयोजकको विश्वास छ ।
यस वर्षको प्रदर्शनीमा ट्रान्सवेल्ड ट्रान्सफर्मर टाइटल स्पोन्सर, ह्याभेल्स इन्डिया लिमिटेड पावर बाई स्पोन्सर, जनता केईआई प्लाटिनम स्पोन्सर तथा लेजर इन्डिया र ग्रेटह्वाइट इलेक्ट्रिकल्स डायमण्ड स्पोन्सरका रूपमा रहेका छन् । ब्रिलियन्ट एलईडी गोल्ड स्पोन्सर रहेको आयोजकले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरूको सहयोग रहने प्रदर्शनीमा स्वदेश तथा विदेशबाट करिब २५ हजार आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ । आगन्तुकहरूले क्यूआर कोड वा अनलाइन प्रणालीमार्फत पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । आधुनिक विद्युतीय तथा ऊर्जा प्रविधिबारे जानकारी लिन इच्छुक विद्यार्थी, अनुसन्धानकर्ता, प्राविधिक तथा सर्वसाधारणका लागि प्रदर्शनी उपयोगी अवसर बन्ने आयोजकको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्