images
images
images

टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित

images

पूर्वाधार वाच, काठमाडौं ।

टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को ३३औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट प्रभालक्ष्मी प्रधानाङ्ग अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञाभवन) मा सम्पन्न निर्वाचनमा उनले २१९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी उत्तमप्रसाद देवकोटालाई पराजित गरेका हुन् । देवकोटाले १०७ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा महासचिव पदमा भक्तपुरका सुविन सितिखुले १६६ मतसहित विजय हासिल गरे । उनका प्रतिस्पर्धी रोहितकुमार फुयालले १६३ मत प्राप्त गरेका थिए । सचिव पदमा रविन भैनात्व १८० मतसहित निर्वाचित हुँदा तेजबहादुर श्रेष्ठले १४६ मत प्राप्त गरे । यस्तै, कोषाध्यक्ष पदमा चनकेशरी कोजू १७४ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी ईश्वरबहादुर ढकालले १५३ मत प्राप्त गरेका थिए ।

पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धिमा नयाँ नेतृत्वको जोड

निर्वाचनपछि नवनिर्वाचित सचिव रविन भैनात्वले नयाँ कार्यसमितिले नेपालको पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, पर्यटकको सुरक्षा तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन छवि सुदृढ बनाउन विशेष प्राथमिकताका साथ काम गर्ने बताए ।

उनका अनुसार कानुनी मान्यता नलिई टुर गाइडको काम गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडाइ गरिनेछ । साथै त्यस्ता गतिविधिलाई निरुत्साहित गर्दै लाइसेन्स प्राप्त व्यावसायिक टुर गाइडको सम्मान र पेशागत अधिकार संरक्षणमा विशेष ध्यान दिइने उनले बताए ।

टुर गाइडको क्षमता विकास र रोजगारीमा प्राथमिकता

नयाँ नेतृत्वले व्यावसायिक टुर गाइडलाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउन विभिन्न तालिम, क्षमता अभिवृद्धि कार्यक्रम, पर्यटनसम्बन्धी परियोजना तथा सरकारी र निजी निकायसँग सहकार्यलाई विस्तार गर्ने योजना अघि सारेको छ । पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन, भाषा तथा व्यावसायिक सीप विकास र रोजगारीका अवसर सिर्जना गर्न विशेष पहल गरिने पनि जनाएको छ ।

पर्यटन प्रवर्द्धनमा टुर्गानको भूमिका महत्वपूर्ण

सन् १९८९ मा स्थापना भएको टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) नेपालभरका इजाजतपत्र प्राप्त व्यावसायिक टुर गाइडहरूको प्रतिनिधिमूलक संस्था हो । यस संस्थाले नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा अन्य पर्यटनसँग सम्बन्धित निकायसँग समन्वय गर्दै पर्यटन प्रवर्द्धन, टुर गाइडको क्षमता विकास, पेशागत हकहित संरक्षण तथा नीतिगत सुझाव प्रदान गर्दै आएको छ । संस्थामा आबद्ध टुर गाइडहरू नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लगायतका सरकारी मान्यता प्राप्त संस्थाबाट तालिमप्राप्त र इजाजतपत्रधारी पेशेवर गाइडहरू हुन् ।

नयाँ नेतृत्वसँग पर्यटन व्यवसायीको अपेक्षा

नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन क्रमशः बढ्दै गएको अवस्थामा टुरिस्ट गाइडहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको पर्यटन व्यवसायीहरूको भनाइ छ । यस्तो अवस्थामा टुर्गानको नयाँ नेतृत्वले गाइड पेशालाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै पर्यटन क्षेत्रको समग्र विकासमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिले पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य गर्दै सेवा गुणस्तर अभिवृद्धि, पर्यटकमैत्री वातावरण निर्माण तथा नेपालको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रभावकारी प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्