images
images
images

अबको १० बर्षमा नेपालले खेल पर्यटनमा छलाङ्ग मार्नसक्छ : सूर्य थपलिया

images

काठमाडौं । नेपालमा खेल पर्यटन (स्पोट्र्स टुरिजम)को सम्भावना उच्च रहेपनि यसको विकासका लागि अझै धेरै आधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । खेलकुद र पर्यटनलाई जोडेर अघि बढाउन सके यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सरोकारवालाहरुको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले पर्यटनलाई कुनै एउटा क्षेत्रसँग मात्र सीमित गरेर बुझ्न नहुने बताए । उनले पर्यटन विभिन्न उद्देश्य, प्रेरणा र गतिविधिसँग जोडिने भएकाले खेलकुदसँग पनि यसको गहिरो सम्बन्ध रहेको उल्लेख गरे ।

उनका अनुसार सामान्यतया पर्यटन भन्नाले घुम्न, बिदा मनाउन वा नयाँ ठाउँको अनुभव लिन आउने यात्रुलाई बुझिन्छ । तर पछिल्लो समय पर्यटनका विभिन्न आयाम विकास भइरहेका छन् । नेपालमा पदयात्रा, पर्वतारोहण, राष्ट्रिय निकुञ्ज भ्रमण, सांस्कृतिक पर्यटनसँगै खेल पर्यटनको सम्भावना पनि विस्तार हुँदै गएको उनले बताए ।

‘नेपालको सन्दर्भमा खेल पर्यटन अहिले विकासको सुरुवाती चरणमा छ । यसको आधार तयार हुँदैछ । पछिल्ला वर्षहरूमा राष्ट्रिय खेलकुद प्रतियोगिता, क्रिकेट, फुटबल, भलिबललगायत खेलका लागि बनेका पूर्वाधारहरूले खेल पर्यटनको सम्भावनालाई बलियो बनाउँदै लगेका छन्,’ उनले भने ।

उनले खेल पर्यटनलाई दुई मुख्य पक्षबाट बुझ्नुपर्ने बताए । पहिलो, खेलाडी र खेलसँग प्रत्यक्ष जोडिएका व्यक्तिहरूको यात्रा र दोस्रो, खेलले प्रेरित गर्ने दर्शक तथा पर्यटकहरूको यात्रा। कुनै ठूलो खेल प्रतियोगिता आयोजना हुँदा खेलाडी मात्र नभई दर्शक, समर्थक र पर्यटकसमेत सम्बन्धित स्थानमा पुग्ने भएकाले त्यसले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ ।

विश्वस्तरमा खेल पर्यटनको सबैभन्दा ठूलो उदाहरण फिफा विश्वकप रहेको उनले बताए । विश्वकप आयोजना हुँदा लाखौँ मानिस विभिन्न देशबाट आयोजक राष्ट्र पुग्ने र त्यसले होटल, यातायात, रेस्टुरेन्ट, व्यापार तथा अन्य सेवा क्षेत्रमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्ने उनले उल्लेख गरे ।

‘विश्वकप जस्ता ठूला प्रतियोगिताले खेल पर्यटनको शक्ति देखाउँछन् । मानिसहरू खेल हेर्नकै लागि हजारौँ किलोमिटर यात्रा गर्छन्। यसले स्थानीयदेखि अन्तर्राष्ट्रिय अर्थतन्त्रसम्म प्रभाव पार्छ,’ उनले भने । नेपालमा पनि नेपालीहरू विदेशमा आयोजना हुने ठूला खेल प्रतियोगिता हेर्न जाने क्रम बढेको उनले बताए । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना भइरहेको फिफा विश्वकपका खेल हेर्न नेपालीहरू समेत पुगेको उदाहरण दिँदै उनले नेपालीहरू पनि खेल पर्यटक बन्न थालेको उल्लेख गरे ।

थपलियाका अनुसार खेल पर्यटन केवल ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र सीमित हुँदैन। स्थानीयस्तरमा आयोजना हुने फुटबल, भलिबल, क्रिकेटलगायत प्रतियोगिताहरू पनि खेल पर्यटनकै स्वरूप भएको उनले बताए। ‘दशैं, तिहार वा अन्य चाडपर्वका समयमा गाउँ–गाउँमा हुने खेल प्रतियोगिता हेर्न टाढा–टाढाबाट मानिसहरू पुग्छन्। उनीहरूले यात्रा गर्छन्, बस्छन्, खानपान गर्छन् र स्थानीय बजारमा खर्च गर्छन्। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ,’ उनले भने ।

नेपालको साहसिक खेल पर्यटनको सम्भावना अझै बलियो रहेको थपलियाले बताए । नेपाल भौगोलिक विविधता, प्राकृतिक स्रोत र दक्ष जनशक्तिका कारण साहसिक खेलका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।

उनले बन्जी जम्प, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ, ट्रेकिङ, ¥याफ्टिङ, पर्वतारोहण, क्लाइम्बिङ, स्किइङ, स्काई डाइभिङलगायत गतिविधिले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गरिरहेको बताए। ‘साहसिक खेल पर्यटनमा नेपालसँग ठूलो सम्भावना छ । हाम्रो भूगोल, उचाइ र दक्ष जनशक्ति यसको मुख्य आधार हुन्। हिमाली क्षेत्रमा काम गर्ने नेपाली जनशक्ति अन्तर्राष्ट्रियस्तरमै परिचित छन्,’ उनले भने ।

तर खेल पर्यटन विकासका लागि सबैभन्दा महत्वपूर्ण कुरा पूर्वाधार भएको उनले बताए । खेल खेल्न सक्ने संरचना, व्यवस्थित व्यवस्थापन र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने क्षमता विकास गर्नुपर्ने उनको भनाइ छ ।

उनका अनुसार कुनै पनि खेल प्रतियोगितालाई पर्यटनसँग जोड्न खेलकुद संघ–संस्था, पर्यटन क्षेत्र, निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक हुन्छ । ‘खेल भइरहेको ठाउँमा मानिसहरू पर्यटकका रूपमा आउन सक्ने वातावरण बनाउनुपर्छ । खेल र पर्यटनलाई प्याकेजका रूपमा विकास गर्न सके त्यसले ठूलो आर्थिक मूल्य सिर्जना गर्न सक्छ,’ थपलियाले भने ।

नेपालमा पछिल्लो समय क्रिकेटको नेपाल प्रिमियर लिग, नेपाल सुपर लिग, भलिबल तथा अन्य खेलका लिगहरूले खेल पर्यटनको आधार तयार गरिरहेको उनले बताए । यस्ता प्रतियोगितालाई अझ व्यवस्थित रूपमा प्रवद्र्धन गर्न सके घरेलु तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ ।

उनका अनुसार खेल पर्यटन विकासमा राज्य, पर्यटन बोर्ड, खेलकुद संघ–संस्था र निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । पर्यटन बोर्डले विभिन्न खेल संघहरूसँग सहकार्य गर्दै आएको र प्रतियोगिताको स्तर तथा प्रभाव हेरेर प्रवद्र्धनमा सहयोग गर्दै आएको उनले जानकारी दिए ।

थपलियाले आगामी ८ देखि १० वर्षमा नेपालले खेल पर्यटनको क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सक्ने बताएका छन् । उनका अनुसार अहिले खेल पर्यटनका आधारहरू निर्माण भइरहेका छन् र सबै पक्षको सहकार्य भए नेपालले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन सक्छ । ‘पूर्वाधार, खेल क्षमता र सबै सरोकारवालाको सहकार्य भयो भने नेपालमा खेल पर्यटनको राम्रो सम्भावना छ । अहिले हामी सुरुवाती चरणमा छौँ, तर भविष्यमा यसले ठूलो आकार लिन सक्छ,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्