काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमार्फत स्वास्थ्य, शिक्षा, पूर्वाधार, सम्पदा संरक्षण, सरसफाइ, प्रविधि र सहरी सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ ।
महानगरका अनुसार कुल बजेटमध्ये पुँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ (५७ प्रतिशत), प्रशासनिक खर्चतर्फ १ अर्ब ४५ करोड २१ लाख ५३ हजार रुपैयाँ (१९ प्रतिशत) र सामाजिक सुरक्षा तथा सशर्त अनुदानतर्फ १ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ (२४ प्रतिशत) विनियोजन गरिएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल खर्च प्रगति ६८ प्रतिशत पुगेको जनाएको छ । पुँजीगत खर्चको वित्तीय प्रगति ६०.४५ प्रतिशत र भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । राजस्व संकलन प्रगति ७५.३१ प्रतिशत रहेको तथा बेरुजु ०.४४ प्रतिशत मात्र रहेको महानगरको दाबी छ ।
ललितपुर महानगरले आगामी आर्थिक वर्षदेखि चिकित्सक, आवश्यक औषधि र उपकरणसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । त्यस्तै ६८ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई निमोनिया र इन्फ्लुएन्जाविरुद्धको निःशुल्क खोप उपलब्ध गराउने योजना अघि सारेको छ ।
महिलामा हुने पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ र उपचार सेवा विस्तार गर्नुका साथै कोलोन क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने महानगरले जनाएको छ । ‘ज्येष्ठ नागरिकसँग महानगर स्वास्थ्य सेवा’ कार्यक्रमलाई विस्तार गर्दै अटिजम तथा अपांगता भएका व्यक्तिलाई समेत समेट्ने योजना रहेको छ ।
महानगरले ललितपुरलाई उज्यालो र सुरक्षित शहरका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा स्मार्ट स्ट्रिट लाइट र हाई मास्ट लाइट जडानलाई निरन्तरता दिइनेछ । कुपण्डोलदेखि जावलाखेलसम्म सञ्चालनमा ल्याइएको इन्टेलिजेन्ट ट्राफिक लाइट प्रणालीलाई हरिसिद्धि, युङ्गमती, कानदेवतास्थान, सानेपा, सान्तभवन, धोबिघाट र एकान्तकुनासम्म विस्तार गरिने भएको छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि अटोमेटेड स्मार्ट बुम जडान गरी ट्राफिक लाइटसँग जोड्ने योजना पनि अघि सारिएको छ । स्मार्ट स्ट्रिट लाइट भएका क्षेत्रमा नेपाल प्रहरीको प्राविधिक सहयोगमा सीसीटीभी जडानलाई निरन्तरता दिइनेछ ।

ललितपुर महानगरले ऐतिहासिक सम्पदा संरक्षणलाई समेत बजेटमा प्राथमिकता दिएको छ । सप्तपाताल पोखरी पुनर्निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने योजना रहेको छ भने कमलपोखरी निर्माणका लागि बजेट व्यवस्था गरिएको छ ।
राजकुलो, ढुंगेधारा, इनार, पोखरी तथा पुराना सम्पदाको संरक्षण र पुनर्निर्माणलाई निरन्तरता दिइने महानगरले जनाएको छ । हिरण्यवर्ण महाविहार, भूरेश्वर मन्दिर, मरु मन्दिर, रुद्रायणी मन्दिरलगायत पुनर्निर्माण हुन बाँकी सम्पदाका लागि समेत बजेट छुट्याइएको छ ।
महानगरले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षकसँग कार्यसम्पादन करार गर्ने योजना ल्याएको छ । विद्यालय तहको सिकाइ उपलब्धिमा कम्तीमा ५ प्रतिशत सुधार गर्ने लक्ष्य राखिएको छ । एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको पुरस्कारलाई निरन्तरता दिइनेछ भने ‘एक विद्यालय एक सम्पदा संरक्षण’ र ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गरिनेछ ।
ललितपुरलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित महानगरलाई ‘आईटी हब’ बनाउने योजना पनि बजेटमा समेटिएको छ । फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन अस्थायी ट्रान्सफर स्टेसन थप गर्ने, जीपीएस प्रणालीसहितको फोहोर संकलन व्यवस्थापन गर्ने र घरघरमै कुहिने तथा नकुहिने फोहोर छुट्याउने व्यवस्था लागू गर्ने महानगरले जनाएको छ ।
४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोग निषेध गर्दै वातावरणमैत्री झोला उत्पादनलाई प्रोत्साहन गरिनेछ । ग्राउन्ड वाटर रिचार्ज अभियान सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । महानगरले आर्थिक ऐनमार्फत विभिन्न कर छुटको व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको सम्पत्ति कर र भूमिकर असोज मसान्तभित्र बुझाएमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
त्यस्तै व्यवसाय नवीकरण हुन बाँकी रहेका उद्योग व्यवसायले तोकिएको अवधिभित्र बक्यौता बुझाएमा जरिवानामा छुट दिने व्यवस्था गरिएको छ । महिला, दलित तथा अपांगता भएका व्यक्ति वा समूहद्वारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ । महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमार्फत ललितपुरलाई सुरक्षित, व्यवस्थित, सम्पदा संरक्षणयुक्त र प्रविधिमैत्री शहर बनाउने लक्ष्य लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्