images
images
images

उद्धार कोषमा नेपाल भ्यालुयर्स एसोसिएसनको १० लाख रुपैयाँ सहयोग

images

पूर्वाधार वाच, काठमाडौं।

भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।

एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतोको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेको हो । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई सरकारी संयन्त्रमार्फत राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो ।

भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत तथा उद्धारका लागि स्रोत परिचालन गर्दै आएको छ । पछिल्लो समय निजी क्षेत्र, व्यवसायिक संघसंस्था तथा विभिन्न संस्थाहरूले समेत उक्त कोषमा सहयोग गर्ने क्रम बढेको छ ।

नेपाल भ्यालुयर्स एसोसिएसन पेशागत मूल्याङ्कनकर्ताहरूको छाता संस्था हो । संस्थाका अनुसार एनभीए २०६८ सालमा स्थापना भएको हो र देशमा मूल्याङ्कन व्यवसायलाई व्यवस्थित, व्यावसायिक तथा मर्यादित बनाउन काम गर्दै आएको छ । संस्थामा भूमि, भवन, प्लान्ट तथा मेसिनरीलगायत विभिन्न क्षेत्रमा मूल्याङ्कन कार्यमा संलग्न करिब ९ सय संस्थागत सदस्य रहेको एनभीएको वेबसाइटमा उल्लेख छ ।

एनभीए अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड परिषद् (IVSC) को सदस्यसमेत रहेको छ । संस्थाले मूल्याङ्कन क्षेत्रसँग सम्बन्धित तालिम, परामर्श, प्रकाशन तथा नीतिगत विषयमा पैरवी गर्दै आएको जनाएको छ ।

इन्जिनियर सञ्जयकुमार महतो सन् २०२४ मा एनभीएको छैटौँ अधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । उनको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन भएको थियो ।

एनभीएले विपद्का समयमा पेशागत जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्