एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकाइ १ अन्तर्गत १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०८३ असोज १७ गते शनिबार भक्तपुरको लोकन्थलीस्थित दिव्येश्वरी पार्टी प्यालेसमा आयोजित साधारणसभा संस्थाका अध्यक्ष भूमिराज खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाका संस्थापक उपाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डी.बी. बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा सञ्चालक समिति सदस्य एवं काठमाडौं सेवा केन्द्र समिति संयोजक देवबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।
वार्षिक प्रगति तथा भावी योजनामाथि छलफल
साधारणसभामा संस्थाको समग्र प्रगति, आर्थिक अवस्था, संस्थागत गतिविधि तथा आगामी योजनाबारे छलफल गरिएको थियो । संस्थाका सचिव केशवकुमार कार्कीले सञ्चालक समितिको वार्षिक प्रगति तथा आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका व्यवसाय विभाग प्रमुख निर्मलकुमार कार्कीले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि बन्द सत्रमा छलफल गर्दै संस्थाको भावी कार्यदिशा, वित्तीय अनुशासन, पारदर्शिता, सुशासन तथा सदस्य हित संरक्षणका विषयमा जोड दिइएको थियो ।
संस्थाले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदनमा सदस्य सुरक्षा, सदस्य प्रोत्साहन, सूचना प्रवाह, रेमिट्यान्स सेवा, शैक्षिक सम्मान तथा विभिन्न संस्थागत गतिविधिलाई समेत समेटेको छ ।
सदस्य सुरक्षाका विभिन्न कार्यक्रम
संस्थाले सदस्यहरूको वित्तीय सुरक्षासँगै जीवन तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । प्रतिवेदनअनुसार सदस्य सुरक्षा कार्यक्रमअन्तर्गत जीवन बीमा तथा कर्जा बीमालगायतका सुविधा प्रदान गरिएको छ ।
त्यस्तै, सदस्यहरूलाई लक्षित निःशुल्क दुर्घटना बीमा कार्यक्रम अन्तर्गत १३७ जना सदस्यलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले ज्येष्ठ सदस्यहरूको योगदान र निरन्तरताको सम्मान गर्दै ५७९ जना ज्येष्ठ सदस्यलाई सम्मान तथा प्रोत्साहन प्रदान गरेको जनाएको छ । यस कार्यक्रमका लागि संस्थाको कुल लागत ४ लाख ८ हजार ७४४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सदस्य संवेदना राहत कार्यक्रम: सदस्यको निधन हुँदा परिवारलाई संस्थागत संवेदना प्रकट गर्दै राहत उपलब्ध गराउने उद्देश्यले सञ्चालित यस कार्यक्रम मार्फत आ.व. २०८२/०८३ मा ३५ जना मृत सदस्यका परिवारलाई कुल रु. ८,४८,८००/- बराबरको सहायता प्रदान गरिएको छ।
संस्थाले सदस्यका बालबचतकर्तामध्ये शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
प्रतिवेदनअनुसार एसईई तथा कक्षा १० को परीक्षामा ३.२ जीपीएभन्दा बढी अंक प्राप्त गरी उत्तीर्ण भएका ४३ जना बाल बचतकर्तालाई नामसहित ‘फ्रेण्डसिप शैक्षिक सम्मान’ प्रदान गरिएको छ ।
आगामी दिनहरूमा पनि सदस्यहरूको आवश्यकता, हित तथा संस्थाको क्षमता अनुसार यस्ता सदस्य-केन्द्रित सुरक्षा कार्यक्रमहरूलाई थप प्रभावकारी, व्यवस्थित र विस्तार गर्दै निरन्तरता दिने प्रतिबद्धता एकीकृत फ्रेण्डसिप साकोसले व्यक्त गरेको छ।
भावी योजनामा सदस्यता र कर्जा लगानी वृद्धि
साधारणसभामा आगामी आर्थिक वर्षका लागि संस्थाको वित्तीय तथा संस्थागत लक्ष्यबारे समेत छलफल गरिएको थियो । संस्थाले सदस्यता वृद्धि, शेयर पुँजी, बचत निक्षेप, कर्जा लगानी, कुल सम्पत्ति तथा संस्थागत पुँजी वृद्धि गर्ने लक्ष्य अघि सारेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, संस्थाले वित्तीय अनुशासन तथा तरलता व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार मात्र बाह्य कर्जा लिने नीति अघि सारेको छ । शाखा नाघेको कर्जा असुलीका लागि विशेष कार्ययोजना बनाई नियमित सम्पर्क, ताकेता, पुनर्तालिकीकरण तथा आवश्यक कानुनी एवं असुलीसम्बन्धी प्रक्रिया अपनाउने लक्ष्यसमेत राखिएको छ ।
संस्थागत क्षमता विकासतर्फ पुँजी, जनशक्ति, प्रविधि, सेवा विस्तार तथा सदस्यको पहुँच अभिवृद्धि गर्दै संस्थालाई दिगो, सक्षम, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ ।
सहकारी अभियानमा सदस्य सहभागितामा जोड
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डी.बी. बस्नेतले संस्थाको स्थापनाकालदेखि हालसम्मको यात्रा, संस्थागत विकास तथा सहकारी अभियानमा सदस्यहरूको भूमिका र योगदानको महत्त्वबारे चर्चा गरेका थिए ।
सभापति एवं संस्थाका अध्यक्ष भूमिराज खड्काले संस्थाको दिगो विकास, सदस्यहरूको विश्वास अभिवृद्धि तथा सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै संस्था अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अध्यक्ष खड्काले साधारणसभामा सहभागी सम्पूर्ण शेयर सदस्य, अतिथि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका थिए ।
‘एकता, विश्वास र सहकार्य समृद्धिको आधार’ भन्ने मूल भावका साथ सम्पन्न साधारणसभाले संस्थाको विगतको प्रगतिको समीक्षा गर्दै आगामी कार्यदिशालाई थप व्यवस्थित र सदस्यकेन्द्रित बनाउने आधार तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्