पूर्वाधार वाच, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
सभाले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर तथा करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।
६ अर्बभन्दा बढी खुद नाफा
साधारणसभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ९० प्रतिशतले बढी हो । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
बैंकको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा वितरणयोग्य नाफा करिब ३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो भने आर्थिक वर्षको अन्त्यमा वितरणयोग्य नाफा तथा सञ्चित रकम करिब ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको थियो ।
डिजिटल सेवा विस्तार र संस्थागत सुशासनलाई प्राथमिकता दिने अध्यक्ष ढकालको भनाइ
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्राहक, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाको निरन्तर सहयोगबाट बैंकले दुई दशकको यात्रा पूरा गरेको बताए । उनले सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा बैंकिङ सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
बदलिँदो बैंकिङ परिवेशअनुसार बैंकले डिजिटल बैंकिङ प्रणालीमा लगानी बढाउँदै ग्राहकलाई थप सहज र आधुनिक सेवा उपलब्ध गराउने जनाएको छ । संस्थागत सुशासन, ग्राहक सेवा तथा वित्तीय पहुँच विस्तारलाई पनि बैंकले प्राथमिकतामा राखेको छ ।
७७ जिल्लामा शाखा सञ्जाल
ग्लोबल आइएमई बैंकका अनुसार बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल भएको छ । हाल बैंकले ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशमा ३ प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा बिन्दुमार्फत सेवा दिइरहेको छ ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई र भारतलगायत मुलुकबाट नेपालमा औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउन समेत भूमिका खेल्दै आएको जनाएको छ ।
प्रबन्धपत्र संशोधन र लेखापरीक्षक नियुक्ति
साधारणसभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत स्वीकृत भएको छ ।
यससँगै बैंकले डिजिटल बैंकिङ, ग्राहक सेवा, वित्तीय पहुँच तथा व्यवसाय विस्तारलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा सुरक्षित र प्रविधिमैत्री बैंकिङ सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ । बैंकले पछिल्ला वर्षहरूमा प्रविधि तथा ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गर्दै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्