पूर्वाधार वाच, काठमाडौं ।
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारण सभा (एकाइ नम्बर ३) सम्पन्न भएको छ। संस्थाले २०८३ आश्विन १७ गते, शनिवार काठमाडौँको पेप्सीकोलास्थित ‘न्यू त्रिशक्ति पार्टी प्यालेस’ मा बिहान ९:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म साधारण सभा आयोजना गरेको हो।
“सदस्यको मनमा मिलिजुली, सदस्यको घरमा मिलिजुली” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त सभामा संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतम र सचिव ठाकुर प्रसाद पाठकले आ-आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
संस्थाले सञ्चालक समितिको निर्णयअनुसार आयोजना गरेको साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति, आर्थिक अवस्था, लेखा परीक्षण तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका विषयमा छलफल गरिएको छ ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन, सचिवबाट आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ का प्रस्तावित कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यस्तै, कोषाध्यक्षबाट आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको प्रस्तावित बजेट प्रस्तुत गरिएको थियो ।
लेखा परीक्षण तथा आगामी बजेटमाथि छलफल
सभामा आर्थिक वर्ष २०८२/०८३ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा बाह्य लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै, आर्थिक वर्ष २०८३/०८४ का लागि बाह्य लेखापरीक्षक छनोट तथा पारिश्रमिक निर्धारणसम्बन्धी विषयमा समेत छलफल गरिएको छ ।
साधारणसभामा संस्थाको विनियम, विभिन्न कार्यविधि तथा नियमावली संशोधन तथा पुनर्लेखन, सहकारी एकीकरणलगायतका विषय पनि छलफलका लागि प्रस्तुत गरिएको थियो ।
यसैगरी, सदस्यका प्रश्न तथा सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि चयन तथा विविध विषयमा समेत छलफल गरिएको थियो ।
साधारण सभाका मुख्य मुख्य अंशहरू तथा वित्तीय स्थिति:
-
सदस्यता विवरण: वित्तीय वर्ष २०८२/०८३ को अन्त्यसम्ममा संस्थामा कुल २१,२७३ जना खुद शेयर सदस्य र ७,७९७ जना खुद बालबचतकर्ता गरी कुल २९,०७० जना बचतकर्ता आबद्ध रहेका छन्। यसै अवधिमा नियमित बचत नगर्ने तथा सम्पर्कमा नआएका ३,४०२ जना शेयर सदस्य र ५७४ जना बालबचतकर्ताहरूको सदस्यता खारेज तथा निष्क्रिय प्रक्रिया अगाडि बढाइएको जानकारी दिइयो।
-
राहत तथा सामाजिक सहयोग: आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले आफ्ना ३१४ जना प्रभावित सदस्य परिवारहरूलाई कुल रू. १६,३४,२५०/- राहत रकम वितरण गरेको छ। त्यसैगरी ७६ जना महिला सदस्यहरूलाई रू. ७९,०००/- सुत्केरी सहयोग र ४३३ जना ज्येष्ठ शेयर सदस्यहरूलाई रू. १०,३९,२००/- ज्येष्ठ नागरिक भत्ता वितरण गरिएको छ।
-
सुशासन र प्रविधि: संस्थाले डिजिटल कारोबार, मोबाइल बैंकिङ, र क्यु.आर. कोड (QR Code) प्रणालीलाई थप सशक्त बनाउँदै लैजाने नीति लिएको छ। साथै, सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम गोएएमएल (GoAML) र राष्ट्र बैंकको एफआईयु (FIU) प्रणालीमा आबद्ध भई TTR रिपोर्टिङ सुचारु गरिएको प्रतिवेदनमा उल्लेख छ।
सुरक्षित संस्थागत पूँजी: संस्थाको जगेडा कोष हाल रू. ९ करोडभन्दा बढी पुगेको छ। संस्थालाई गुणस्तरीय र पारदर्शी बनाउन एक्सेस (ACCESS) र सियुलेग (CULEG) का सूचकांकहरू लागू गरी सञ्चालन गरिएको छ।
आगामी ४ वर्षको वित्तीय लक्ष्य (प्रस्तावित खाका)

सभमा प्रत्यक्ष उपस्थित हुन नसकेका सदस्यहरूका लागि युट्युब, फेसबुक र संस्थाको आधिकारिक वेबसाइटमार्फत समेत साधारण सभाको प्रतिवेदन अध्ययन र अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो।
सदस्यकेन्द्रित सेवामा जोड
संस्थाको आर्थिक वर्ष २०८२/०८३ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमा सदस्यको हितलाई केन्द्रमा राखेर संस्थाले विभिन्न सेवा तथा कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख छ ।
संस्थाले आर्थिक मन्दीको अवस्थामा समेत कुल पुँजी वृद्धि, विभिन्न स्थानमा सेवाकेन्द्रमार्फत नियमित सेवा प्रवाह, सदस्यको मागअनुसार कर्जा प्रवाह तथा विस्तारित कार्यक्षेत्रमा नियमित बचत संकलनलाई प्राथमिकता दिएको जनाएको छ ।
त्यस्तै, डिजिटल सेवा विस्तार, मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने, सदस्यको बचत तथा ऋणसम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध गराउने, शाखा नाघेको कर्जा सुरक्षणलाई प्राथमिकता दिने तथा मनी ट्रान्सफर सेवामार्फत सदस्यलाई थप सुविधा उपलब्ध गराउने विषयलाई पनि प्रतिवेदनमा समेटिएको छ ।
सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकता
साधारणसभामा संस्थाको सुशासन, वित्तीय अनुशासन तथा नियामकीय व्यवस्थाको पालना विषयमा समेत छलफल भएको छ ।
प्रतिवेदनअनुसार संस्थाले सहकारीसम्बन्धी प्रचलित कानुन, संस्थाको आन्तरिक कानुन, सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता र शेयर सदस्य, सञ्चालक समिति तथा कर्मचारीको आचारसंहितालाई आधार मानी संस्था सञ्चालन गर्दै आएको छ ।
संस्थाले सञ्चालक समितिको नियमित बैठकमार्फत सहकारीका सिद्धान्त, मूल्य तथा मान्यताको परिपालनाको समीक्षा गर्दै सुधार आवश्यक देखिएका विषयमा व्यवस्थापनमार्फत निर्णय गरी अघि बढ्ने गरेको जनाएको छ । प्रभावकारी सुशासन कायम गर्न १२० वटा सूचकांकको परिधिभित्र रहेर संस्था सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो साधारणसभाका निर्णयको समीक्षा
लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमा अघिल्लो साधारणसभाबाट पारित निर्णयहरूको कार्यान्वयन अवस्थाको समेत समीक्षा गरिएको छ । विभिन्न निर्णयमध्ये केही कार्यान्वयन गर्न बाँकी रहेको उल्लेख भए पनि निर्णयहरू सम्बन्धित नियमनकारी निकायमा समयमै पेस गरिएको तथा पारित नीति तथा कार्यक्रमको आवधिक समीक्षा गरिएको प्रतिवेदनमा जनाइएको छ ।
संस्थाले अघिल्लो साधारणसभाबाट पारित बजेटको सीमाभित्र रहेर खर्च गर्दै आएको र केही शीर्षकमा बजेट अपुग हुँदा साधारणसभाबाट प्राप्त अख्तियारीअनुसार रकमान्तर गरिएको जनाएको छ ।
३३ वर्षदेखि सहकारी अभियानमा
मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०५० साल भदौ ९ गते स्थापना भएको हो । सोही वर्षको मंसिर २ गते जिल्ला सहकारी कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा संस्था दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।
हिमाली जिल्लाबाट सुरु भएको संस्थाले हाल नेपालको सहकारी क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको र संस्थालाई वर्तमान अवस्थासम्म ल्याउन शेयर सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्