पूर्वाधार वाच, काठमाडौं ।
सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले २०८३ साल असार मसान्तसम्म कायम साधारण शेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । यस्तै, बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर पुँजीतर्फ ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ ।
दुई सञ्चालक निर्विरोध निर्वाचित
साधारणसभाबाट सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै तेज बहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको २२औँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
सानिमाको खुद नाफा ३ अर्ब ५५ करोड
बैंकले आर्थिक वर्ष २०८२/८३ मा रु. ३ अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ । सो अवधिको अन्त्यसम्म बैंकको कुल सम्पत्ति रु. २ खर्ब ९१ अर्ब २१ करोड पुगेको छ ।
त्यस्तै, बैंकको कुल निक्षेप रु. २ खर्ब ४९ अर्ब ९३ करोड तथा खुद कर्जा सापटी रु. २ खर्ब ३ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।
निष्क्रिय कर्जा २.८७ प्रतिशत
आर्थिक वर्षको अन्त्यसम्म बैंकको निष्क्रिय कर्जा अनुपात २.८७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत तथा मासिक औसत कर्जा–निक्षेप अनुपात ८०.७७ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकले कर्जा असुली तथा व्यवस्थापन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै वित्तीय स्थायित्व कायम गर्ने प्रयास गरिरहेको जनाएको छ ।
डिजिटल बैंकिङ विस्तारमा जोड
सानिमा बैंकले आगामी दिनमा डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकलाई प्रविधिमैत्री तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने रणनीति अघि सारेको छ ।
बैंकले आफ्नो डिजिटल सेवा विस्तारसँगै जलविद्युत् तथा विपन्न वर्ग लक्षित क्षेत्रमा लगानी विस्तारलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ । बैंकका अनुसार हाल सातै प्रदेशमा १०६ वटा शाखा तथा २८ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा सञ्चालनमा छन् । बैंकको वेबसाइटमा १२७ एटीएम र ५० हजारभन्दा बढी क्यूआर मर्चेन्ट रहेको विवरणसमेत उल्लेख छ ।
विपद् प्रभावितलाई सहयोग
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बाढी प्रभावित रसुवा र नुवाकोटका पीडितलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड २५ लाख जम्मा गरेको जानकारी साधारणसभामा गराइएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्वलाई आफ्नो व्यवसायिक गतिविधिसँगै अघि बढाउने नीति लिएको जनाएको छ । बैंकको आधिकारिक विवरणअनुसार समुदायमा समतामूलक तथा दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
शेयरधनीको लाभांश बढाउन आग्रह
साधारणसभामा सहभागी शेयरधनीहरूले बैंकको वित्तीय प्रदर्शन तथा लाभांश वितरणप्रति व्यवस्थापन र सञ्चालक समितिलाई धन्यवाद दिएका थिए ।
शेयरधनीहरूले आगामी आर्थिक वर्षमा बैंकको वित्तीय प्रदर्शन थप सुधार गर्दै दोहोरो अंकमा लाभांश वितरण गर्न सक्ने अवस्था सिर्जना गर्न व्यवस्थापनलाई आग्रह गरेका छन् ।
अध्यक्ष तुक प्रसाद पौडेलले चुस्त व्यवस्थापन, संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा प्रभावकारी ग्राहक सेवामार्फत बैंकलाई आगामी दिनमा थप सबल र प्रतिस्पर्धी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सानिमा बैंक सन् २००४ मा राष्ट्रियस्तरको विकास बैंकका रूपमा सञ्चालनमा आएको थियो भने सन् २०१२ को फेब्रुअरीदेखि ‘क’ वर्गको वाणिज्य बैंकका रूपमा सञ्चालन हुँदै आएको छ । बैंकका अनुसार यसको साधारण शेयरमा ४९ प्रतिशत सर्वसाधारण र ५१ प्रतिशत संस्थापक शेयरधनीको हिस्सा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्