पूर्वाधार वाच, भक्तपुर ।
कालिञ्चोक दर्शन लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भक्तपुरको मध्यपुर थिमी, गठ्ठाघरस्थित जर्मन होम्स होटलमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटीले गरेका थिए । सभाको सञ्चालन कम्पनीका सचिव तिलकराज शिवाकोटीले गरेका थिए ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ । साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण र सञ्चालक नियुक्तिको बाँकी अवधिको अनुमोदनसम्बन्धी प्रस्तावसमेत पारित भएको छ । यी विषयहरू सभाको आधिकारिक एजेन्डामा पनि समावेश थिए ।
८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ नगद लाभांश
सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी रु. ६३ करोडको ८.५ प्रतिशत अर्थात् रु. ५ करोड ३५ लाख ५० हजार बराबरको बोनस सेयरवितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयरको कर प्रयोजनका लागि ०.४४७४ प्रतिशत अर्थात् रु. २८ लाख १८ हजार ४२१ रुपैयाँ ५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत भएको छ । यससँगै कम्पनीको कुल प्रस्तावित लाभांश ८.९४७४ प्रतिशत कायम हुन्छ ।
१ः१ अनुपातमा हकप्रद सेयर
बोनस सेयर वितरणपछि कायम हुने रु. ६८ करोड ३५ लाख ५० हजार चुक्ता पुँजीका आधारमा १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
यसअनुसार प्रतिसेयर रु. १०० अंकित दरका ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्ने योजना छ । कम्पनीको पूँजी विस्तारसँग सम्बन्धित यो प्रस्ताव सभाको प्रमुख विशेष एजेन्डामध्ये एक थियो ।
कृषि, जलविद्युत् र सूचना प्रविधिमा लगानी विस्तार
साधारणसभाले कम्पनीको व्यावसायिक दायरा विस्तार गर्दै कृषि, जलविद्युत्, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा लगानी तथा व्यवसाय सञ्चालन गर्ने गरी प्रबन्धपत्रको उद्देश्य थप तथा परिमार्जन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै, बोनस तथा हकप्रद सेयरपछि बढ्ने जारी तथा चुक्ता पुँजीलाई समायोजन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायबाट आवश्यक निर्देशन आएमा सोअनुसार समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित भएको छ ।
पर्यटकीय पूर्वाधार र डिजिटल सेवामा जोड
कम्पनीले आगामी दिनमा कालिञ्चोक क्षेत्रमा पर्यटकीय सेवा तथा पूर्वाधारलाई थप व्यवस्थित बनाउने योजना अघि सारेको छ । बसपार्क व्यवस्थापन सुधार, खानेपानी ट्यांकी तथा पाइपलाइन मर्मत, छुट्टै टिकट काउन्टर र सुरक्षा पोस्ट निर्माण तथा ईभी चार्जिङ स्टेशन स्थापना गर्ने योजना कम्पनीले जनाएको छ ।
त्यसैगरी सेवा प्रवाहलाई डिजिटल बनाउँदै पर्यटक तथा सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा उपलब्ध गराउने तथा स्थानीय समुदायसँग सहकार्य गरी पर्यटन गतिविधि विस्तार गर्ने कम्पनीको योजना छ ।
भोटेकोसी बाढीपीडितलाई ११ लाख ११ हजार सहयोग
साधारणसभाको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ लाख ११ हजार १११ सहयोग गरेको जनाएको छ ।
अध्यक्ष बालकृष्ण शिवाकोटीले कम्पनीको आगामी विकासका लागि शेयरधनी, कर्मचारी, स्थानीय समुदाय तथा अन्य सरोकारवालाबीचको सहकार्यलाई निरन्तरता दिँदै पर्यटकीय सेवा, पूर्वाधार र प्रविधिको विकासमा जोड दिने बताएका छन् ।
यससँगै साधारणसभाबाट बोनस तथा हकप्रद सेयर, पूँजी विस्तार, लगानी विविधीकरण र पर्यटकीय पूर्वाधार विकाससम्बन्धी निर्णय गर्दै कालिञ्चोक दर्शन लिमिटेडले आगामी व्यावसायिक योजनालाई अघि बढाउने आधार तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्