काठमाडौं । साउदी अरबले लामो दूरीसम्म प्रहार गर्न र बढी क्षमताको विस्फोटक पदार्थ बोक्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन गर्न कारखाना विस्तार गरिरहेको समाचार रोयटर्सले छापेको छ । अमेरिकी अनुसन्धानकर्ताहरूले स्याटेलाइट तस्बिर विश्लेषण गर्दै कारखाना यसै वर्षको अन्त्यसम्ममा उत्पादनका लागि तयार हुन सक्ने आकलन गरेको समाचारमा उल्लेख छ ।
समाचार अनुसार साउदी अरबको राजधानी रियादबाट करिब २०० किलोमिटर पश्चिममा रहेको अल–दुवादिमी क्षेप्यास्त्र कारखानामा नयाँ संरचना निर्माण भइरहेको छ । अमेरिकास्थित विदेश नीति अनुसन्धान संस्थान ९एफपीआरआई० का अनुसन्धानकर्ता साम लेयर र माइकल डुइट्सम्यानले एक वर्षभन्दा बढी समयका स्याटेलाइट तस्बिर अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।
उनीहरूका अनुसार नयाँ संरचनामा ठोस इन्धनयुक्त क्षेप्यास्त्रका मोटर निर्माण गर्न प्रयोग हुने खाल्डाहरू रहेको अनुमान छ । कारखाना विस्तारले पहिलेको भन्दा ठूला र बढी क्षमताका क्षेप्यास्त्र उत्पादन गर्ने सम्भावना देखाएको छ ।
विशेषज्ञहरूले साउदी अरबले चीनको प्रविधिमा आधारित डीएफ–१५ वा लामो दूरीको डीएफ–२१ जस्ता क्षेप्यास्त्र उत्पादन गर्न सक्ने अनुमान गरेका छन् । तर, कुन प्रकारका क्षेप्यास्त्र उत्पादन हुने भन्ने पुष्टि भएको छैन ।
लामो दूरीका क्षेप्यास्त्रले इरानबाट हुन सक्ने आक्रमण रोक्न साउदी अरबको सैन्य क्षमता बढाउन सक्ने विश्लेषकहरूको भनाइ छ । यसले यमनका इरानसमर्थित हुथी लडाकुविरुद्ध साउदी अरबको क्षमता पनि बढाउन सक्छ ।
तर, साउदी अरबको क्षेप्यास्त्र क्षमता विस्तारले मध्यपूर्वमा हतियार प्रतिस्पर्धा बढाउनुका साथै अमेरिका र साउदी अरबबीच प्रस्तावित नागरिक आणविक सहमतिमा पनि असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको समाचारमा उल्लेख छ ।
साउदी अरबले सन् १९८७ मा चीनबाट करिब ४० वटा डीएफ–३ ब्यालिस्टिक क्षेप्यास्त्र खरिद गरेको थियो । अमेरिकाले लामो दूरीका क्षेप्यास्त्र प्रणाली निर्यातमा प्रतिबन्ध लगाउँदै आएकाले साउदी अरबले चीनको प्रविधिमा निर्भरता बढाएको हुन सक्ने विश्लेषण गरिएको छ । कारखाना विस्तारबारे साउदी सरकार, चिनियाँ दूतावास र अमेरिकी अधिकारीहरूले रोयटर्सको प्रतिक्रियासम्बन्धी अनुरोधको जवाफ दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्