पूर्वाधार वाच, भक्तपुर ।
मस्कुलोस्केलेटल अन्कोलोजी सोसाइटी अफ नेपालको तेस्रो द्विवार्षिक सम्मेलन भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा नोभेम्बर २१, २०२६ मा आयोजित सम्मेलनमा हड्डी तथा नरम तन्तुमा हुने क्यान्सरको निदान, उपचार र अनुसन्धानका साथै आधुनिक चिकित्सा प्रविधिबारे विशेषज्ञहरूबीच गहन छलफल भएको छ ।
‘फर्स्ट डु नो हार्म’ (First Do No Harm) भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलनले क्यान्सर उपचारका नवीनतम अभ्यास र चुनौतीबारे अनुभव तथा ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
क्यान्सर निदान र उपचारका नवीनतम विधिबारे छलफल
सम्मेलनमा हड्डी तथा नरम तन्तुको क्यान्सर पहिचान, उपचारका आधुनिक विधि, शल्यक्रियापछिको पुनर्निर्माण, रेडियोथेरापी तथा उपचारका क्रममा देखिने चुनौतीका विषयमा विभिन्न प्राविधिक प्रस्तुति र छलफल गरिएको थियो ।
कार्यक्रममा इविङ सार्कोमा, रेट्रोपेरिटोनियल सार्कोमा, उच्च ग्रेडका सार्कोमा तथा बालबालिकामा देखिने सार्कोमाको उपचारसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । सम्बन्धित क्षेत्रका विशेषज्ञहरूले उपचारका क्रममा प्राप्त अनुभव र अनुसन्धानका निष्कर्ष प्रस्तुत गरेका थिए ।
आधुनिक प्रविधि र पुनर्निर्माणका विषयमा प्रस्तुति
सम्मेलनमा क्यान्सर उपचारमा आणविक निदानको भूमिका, इम्प्लान्टको डिजाइन तथा गुणस्तर सुनिश्चितता, थ्रीडी प्रिन्टेड स्काफोल्डको प्रयोग र हड्डीको ट्युमर हटाएपछि गरिने पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो ।
यी विषयमा भएका प्रस्तुतिले मस्कुलोस्केलेटल क्यान्सरको उपचारमा प्रयोग भइरहेका प्रविधि, उपचारका विकल्प र उपचारपछिको पुनर्निर्माणसम्बन्धी ज्ञान आदानप्रदानमा सहयोग पुर्याएको छ ।
समापनमा नारायणमान बिजुक्छेँ प्रमुख अतिथि
सम्मेलनको समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
सम्मेलनले नेपालमा हड्डी तथा नरम तन्तुको क्यान्सरको निदान र उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, विशेषज्ञ चिकित्सकबीच ज्ञान, अनुभव र नवीनतम उपचार पद्धतिको आदानप्रदानलाई थप प्रभावकारी बनाउँदै यस क्षेत्रमा अनुसन्धान तथा उपचार सेवाको विकासमा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्