images
images
images
images

गल्कोट घुम्टे सहकारीको २२औँ साधारणसभा सम्पन्न, शेयर सदस्यलाई ६.५ प्रतिशत नगद लाभांश

images

पूर्वाधार वाच, काठमाडौं ।

गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा संस्थाका अध्यक्ष प्रशान्त ढकालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयर सदस्यलाई ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

images

सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, लेखापरीक्षण प्रतिवेदन तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । सञ्चालक समितिका तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सभाले अनुमोदन गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, संरक्षित पुँजी फिर्ता कोष वितरण, अन्य कोषमा रहेको रकम जगेडा कोषमा स्थानान्तरण र साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि चयनलगायतका प्रस्ताव पनि पारित भएका छन् ।

शेयर पुँजी ३ करोड १० लाख रुपैयाँभन्दा बढी

संस्थाले प्रस्तुत गरेको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म सहकारीको शेयर पुँजी ३ करोड १० लाख ४ हजार ५०० रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाले ४२ करोड ३३ लाख २८ हजार ६५३ रुपैयाँ २८ पैसा बचत संकलन गरेको छ भने ४० करोड ४४ लाख १८ हजार ३५० रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा संस्थाले ६८ लाख २ हजार १८७ रुपैयाँ ३३ पैसा खुद मुनाफा आर्जन गरेको छ । उक्त मुनाफाबाट नियमानुसार विभिन्न कोषमा रकम विनियोजन गरी शेयर सदस्यलाई ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको हो ।

लेखा समिति निर्विरोध निर्वाचित

साधारणसभाले लेखा समितिको संयोजकमा डा. मनबहादुर खत्रीलाई निर्वाचित गरेको छ । त्यसैगरी, सदस्यहरूमा यशोदा ढकाल र डा. बोधराज गौतम निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत श्रेष्ठका अनुसार लेखा समितिका सबै उम्मेदवारले २०८३ मंसिर १ गते उम्मेदवारी दर्ता गराएका थिए । निर्धारित निर्वाचन प्रक्रियाअनुसार संयोजक तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

२५ वर्षदेखि सदस्यको आर्थिक तथा सामाजिक विकासमा सक्रिय

गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था २०६१ असोज ८ गते डिभिजन सहकारी कार्यालय, काठमाडौंमा विधिवत् दर्ता भई स्थापना भएको हो । बागलुङको गल्कोट क्षेत्रबाट काठमाडौं आई विभिन्न पेसा तथा व्यवसायमा संलग्न सदस्यहरूको सानो–सानो पुँजीलाई बचतका माध्यमबाट एकीकृत गरी उनीहरूको आर्थिक तथा सामाजिक स्तर उकास्ने उद्देश्यले संस्था स्थापना गरिएको हो ।

‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारीको आदर्श सिद्धान्तलाई आत्मसात् गर्दै संस्थाले सदस्य लक्षित विभिन्न बचत योजना सञ्चालन गर्दै आएको छ । साधारण बचत, क्रमिक बचत, बालशिक्षा बचत, नारी बचत, गल्कोट बचत, अनिवार्य बचत, रेमिट बचत तथा मुद्दती बचतलगायतका कार्यक्रममार्फत सदस्यहरूलाई बचत गर्ने अवसर प्रदान गरिएको छ ।

त्यस्तै, सदस्यहरूको आवश्यकता र क्षमताअनुसार विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्नुका साथै रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ ।

गल्कोट र घुम्टेको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्वलाई समेटेर नामकरण गरिएको यस संस्थाले काठमाडौंमा रहेका गल्कोटवासीलाई एउटै संस्थागत संरचनामा आबद्ध गर्दै आर्थिक सहकार्य, आपसी सहयोग र सामूहिक विकासको भावना प्रवर्द्धन गर्दै आएको छ ।

संस्था थप व्यवस्थित र पारदर्शी बनाउने अध्यक्षको प्रतिबद्धता

साधारणसभाको समापन गर्दै अध्यक्ष प्रशान्त ढकालले सदस्यहरूको विश्वास, साथ र सहयोगले संस्था निरन्तर अघि बढिरहेको बताए । उनले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै आगामी दिनमा संस्थालाई थप व्यवस्थित, पारदर्शी र सबल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाको प्रगति र दिगोपनका लागि सम्पूर्ण शेयर सदस्यको निरन्तर साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले साधारणसभामा सहभागी सबै सदस्यप्रति आभार व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्