images
images
images
images

गरिमा रोड रेस २०८३ सम्पन्न, १ हजार ४०० भन्दा बढी धावक सहभागी

images

पूर्वाधार वाच, काठमाडौं ।

गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो संस्करणको ‘गरिमा रोड रेस २०८३’ सम्पन्न भएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित शनिबार (मंसिर ५ गते) काठमाडौंमा आयोजना गरिएको प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका छन् ।

images

बैंकले आफ्नो २०औँ वार्षिकोत्सव मंसिर ७ गते मनाउँदैछ । वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित रोड रेस बैंकले १८औँ वार्षिकोत्सवदेखि सुरु गरेको प्रतियोगिताको तेस्रो संस्करण हो । यसपटक खुला र कर्पोरेट गरी दुई विधामा महिला तथा पुरुषका छुट्टाछुट्टै चार प्रतिस्पर्धा सञ्चालन गरिएको थियो ।

खुलातर्फ तीर्थकुमार पुन र राज्य रावल विजेता

प्रतियोगिताको खुला विधाअन्तर्गत १० किलोमिटर दौडमा पुरुषतर्फ तीर्थकुमार पुनले ३१ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितिन् ।

खुलातर्फको दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको थियो । नारायणगोपाल चोक र हात्तीगौंडा हुँदै बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ को कार्यालयसम्म पुगेर धावकहरू पुनः सोही मार्ग हुँदै बालुवाटार फर्किएका थिए ।

कर्पोरेटतर्फ ईश्वर बुढाथोकी र दिव्या विष्ट प्रथम

कर्पोरेट विधाअन्तर्गतको ५ किलोमिटर दौडमा पुरुषतर्फ ईश्वर बुढाथोकीले १९ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे । महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन् ।

कर्पोरेटतर्फको दौड पनि बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको थियो । नारायणगोपाल चोक हुँदै बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर धावकहरू पुनः बालुवाटार फर्किएका थिए ।

विजेतालाई ५० हजारसम्म नगद पुरस्कार

प्रतियोगितामा खुलातर्फको १० किलोमिटर विधामा महिला तथा पुरुष दुवैतर्फ प्रथमदेखि पाँचौँ स्थान हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । विजेताहरूलाई मेडल तथा प्रमाणपत्रसमेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।

त्यसैगरी, कर्पोरेटतर्फको ५ किलोमिटर विधामा प्रथमदेखि पाँचौँ स्थानसम्मका प्रतिस्पर्धीलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । उनीहरूलाई पनि मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बैंकका अध्यक्षसहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता

कार्यक्रममा बैंकका अध्यक्ष दिलीप प्रताप खाँड, सञ्चालक समितिका सदस्य तथा पूर्वसञ्चालक, शेयरधनी, विभिन्न संघसंस्था तथा निकायका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, पत्रकार र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामार्फत खेलकुद र शारीरिक सक्रियताप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्य बैंकले लिएको जनाएको छ ।

वार्षिकोत्सवमा नौ स्थानमा रक्तदान कार्यक्रम

यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा मंसिर ७ गते सोमबार देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ । रक्तदानसँगै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्ने बैंकले जानकारी दिएको छ ।

रोड रेस तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत बैंकले वार्षिकोत्सवलाई खेलकुद, स्वास्थ्य र सामाजिक सेवासँग जोडेर मनाउन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्